काठमाडौं । जेनजी आन्दोलनपछि देशमा व्यापक परिवर्तन भए पनि एमालेमा भने पार्टी अध्यक्षको निवासमा बैठक राख्न छाडिएको छैन । अध्यक्ष केपी ओलीको निवास गुण्डुमा केहीबेरअघि एमाले केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।
बैठकमा यसअघि ओलीले प्रस्ताव गरेको नेताहरूको कार्यविभाजनमा छलफल गरेर निर्णय गर्ने तयारी छ । एमालेको गत पुसमा सम्पन्न ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन अहिलेसम्म भएको थिएन । ओलीले अघि सारेको कार्यविभाजनको प्रस्तावमा कतिपय नेताहरूलाई दोहोरो तेहेरो जिम्मेवारी दिने उल्लेख छ ।
आजको बैठकमा पार्टी पुनर्गठन र रूपान्तरणको मुद्दामा कतिपय नेता कार्यकर्ताहरूले चलाइरहेको अभियानका बारेमा समेत कुरा उठ्ने बुझिएको छ । असफलताको जिम्मेवारी लिँदै अध्यक्ष ओलीले बिदा हुनुपर्ने मागसहित नेता कार्यकर्ताहरूले अभियान नै चलाउँदै आएका छन् । उनीहरुले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान नै चलाएका छन् ।
आजको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको जिम्मेवारीका बारेमा समेत छलफल हुने बुझिएको छ । भण्डारीको सदस्यता खुला गर्ने सोमबारको बैठकमा अध्यक्ष ओलीले सुनाए पनि उनलाई के जिम्मेवारी दिइन्छ भन्ने चासोका साथ हेरिएको छ ।
भण्डारी एमालेमा दोस्रो वा तेस्रो वरीयतामा नबस्ने भएकी छिन् । उनले आफ्नो अडान निकट नेताहरुमार्फत ओलीसमक्ष पठाइसकेकी छन् ।








