नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँके मा गत वैशाख महिनामा विभिन्न प्रकृतिका २०५ अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालयले सोमबार सार्वजनिक गरेको मासिक प्रगति प्रतिवेदनअनुसार जिल्लाभर एक महिनाको अवधिमा ती मुद्दा दर्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातली का अनुसार दर्ता भएका मुद्दामध्ये जघन्य तथा गम्भीर प्रकृतिका ७१ र सामान्य अपराधअन्तर्गतका १३४ वटा रहेका छन्।
प्रहरीका अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित नौ वटा घटनामा ११ जनालाई पक्राउ गरिएको छ। आर्थिक अपराधसम्बन्धी ३४ वटा मुद्दा पनि दर्ता भएका छन्।
त्यसैगरी, चालु मुद्दाका प्रतिवादी पक्राउ अभियानअन्तर्गत वैशाख महिनामा १८७ जना पक्राउ परेका छन्। सार्वजनिक चासो रहेका १९ वटा पेन्डिङ मुद्दाको सफल अनुसन्धान गरिएको प्रहरी नायब उपरीक्षक पातलीले जानकारी दिएका छन्। यस अवधिमा सम्पत्ति शुद्धीकरणसम्बन्धी एक मुद्दासमेत दर्ता भएको प्रहरीले जनाएको छ।
फैसला कार्यान्वयन अभियानअन्तर्गत वैशाख महिनामा ७६ जना फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ परेकामाथि कुल १० वर्ष दुई महिना २० दिन कैद सजाय कार्यान्वयन बाँकी रहेको प्रहरीले जनाएको छ। उनीहरूबाट अदालतले तोकेको ४७ लाख २७ हजार ४३० रुपैयाँ बिगो तथा क्षतिपूर्ति असुलउपरका लागि अदालतमा बुझाइएको छ।
यसैबीच, वैशाख महिनामा बाँके जिल्लाभर २० वटा सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।
प्रहरीका अनुसार अधिकांश दुर्घटना चालकको लापरबाहीका कारण भएका छन्। तथ्यांकअनुसार १९ दुर्घटना चालकको लापरबाही तथा एउटा दुर्घटना मादक पदार्थ सेवन (मापसे) का कारण भएको हो।
सवारी जाँच अभियानअन्तर्गत वैशाख महिनामा दुई हजार ७८ सवारीसाधनका चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ। उक्त कारबाहीबाट १८ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
त्यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १०४ उजुरी दर्ता भएकामध्ये ८३ वटा फर्छ्योट गरिएको तथा २१ वटा उजुरी समाधान हुन बाँकी रहेको जनाइएको छ।
घरेलु हिंसासम्बन्धी झै–झगडाका ७४ उजुरी दर्ता भएकामध्ये ५४ घटनामा मिलापत्र गराइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।





