काठमाडौं। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि प्रदेशका कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले सोमबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।

मन्त्री कार्कीका अनुसार संघीय सरकारले कर्मचारीको तलब वृद्धि गरेसँगै प्रदेशका कर्मचारीलाई पनि समान सुविधा उपलब्ध गराउन तलब वृद्धि गर्ने निर्णय गरिएको हो। यसबाट प्रदेश सरकारअन्तर्गत कार्यरत कर्मचारीले संघीय कर्मचारीसरह तलब सुविधा प्राप्त गर्नेछन्।

ADVERTISEMENT

त्यस्तै, लुम्बिनी प्रदेशमा उच्च तहका कर्मचारीलाई टिकाइराख्ने उद्देश्यले अधिकृतभन्दा माथिल्लो तहका कर्मचारीलाई मासिक तीन हजार रुपैयाँ यातायात भत्ता उपलब्ध गराउने व्यवस्था पनि बजेटमा समावेश गरिएको छ।

प्रदेश सरकारले दक्ष जनशक्ति प्रदेशमै टिकाइराख्न तथा कर्मचारीको मनोबल अभिवृद्धि गर्न तलब वृद्धि र अतिरिक्त सुविधा उपलब्ध गराउने नीति लिएको जनाएको छ।

ADVERTISEMENT

सरकारको यो निर्णयले प्रदेश निजामती सेवामा कार्यरत कर्मचारीलाई राहत पुग्ने अपेक्षा गरिएको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत कर्मचारी व्यवस्थापन, सेवा प्रवाह सुधार तथा प्रशासनिक क्षमता अभिवृद्धिलाई समेत प्राथमिकतामा राखिएको प्रदेश सरकारले जनाएको छ।