काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४ अंक घटेर २७२४.०३ विन्दुमा झरेको छ।
१३ उपसमूहमध्ये चार उपसमूहको परिसूचक बढेको छ । आज म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ।
नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। बिहीबार तीन अर्ब ९० करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३४२ स्टकको ५४ हजार १७७ पटकको कारोबारमा चार अर्ब ३४ करोड १० लाख ९४ हजार रुपैयाँबराबरको ९८ लाख ५६ हजार कित्ता सेयर किनबेच भएको छ।
शुक्रबार सेन्ट्रल फाइनान्स कम्पनीको २५ करोड ५३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। सिटी होटलको करिब २५ करोड रुपैयाँ र आँखु खोला जलविद्युत कम्पनीको कारोबार रकम साढे २२ करोड रुपैयाँ नाघेको छ।
आज दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सोपान फर्मास्यूटिकल्स र एपोलो हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य करिब साढे १३ प्रतिशत बढेको छ।








