काठमाडौं । साताको दोस्रो कारोबार दिन बुधबार सेयर बजार बढेर बन्द भएको छ । पछिल्ला पाँच कारोबार दिनदेखि बढिरहेको नेप्सेले आज पनि त्यसलाई निरन्तरता दिएको हो।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.२५ अंक बढेर २७२६.४९ विन्दुमा पुगेको छ। आज १३ मध्ये पाँच उपसमूहको परिसूचक बढेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.८८ प्रतिशत बढेको छ। बैंकिङ, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। सोमबार पाँच अर्ब ५१ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३४३ स्टकको ७५ हजार १० पटकको कारोबारमा ६ अर्ब ६७ करोड १० लाख १७ हजार रुपैयाँबराबरको एक करोड ४९ लाख २४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
मंगलबार रिडी पावर कम्पनी ५५ करोड ७७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। आँखु खोला जलविद्युत कम्पनीको करिब साढे ३१ करोड रुपैयाँ र रिलायन्स स्पिनिङ मिल्सको कारोबार रकम २७ करोड रुपैयाँ नाघेको छ।
आज एभरेष्ट कलर लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको सेयरमूल्य ५५ रुपैयाँ ८० पैसा बढेर ४२८ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। कालंगा हाइड्रोको सेयरमूल्य साढे ७ प्रतिशत, बोटलर्स नेपाल (बालाजु) को सेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ।







