काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले फिफा विश्वकप फुटबल २०२६ का खेलहरू सामूहिक रूपमा ठूलो पर्दामा प्रत्यक्ष प्रसारण गर्नुअघि अनिवार्य रूपमा पूर्वस्वीकृति लिनुपर्ने जनाएको छ।
बिहीबार जारी सूचनामार्फत प्रशासनले कुनै पनि संघ, संस्था वा कम्पनीले पूर्वस्वीकृति नलिई रातिको समयमा ठूलो पर्दामा खेल देखाउने बहानामा भिडभाड नगर्न आग्रह गरेको हो। फिफा विश्वकप फुटबल २०२६ जेठ २९ गतेदेखि सुरु हुँदैछ।
प्रशासनले यस्ता कार्यक्रमले समुदायमा असर पुर्याउन सक्ने तथा शान्ति सुरक्षामा चुनौती सिर्जना हुन सक्ने भएकाले अनुमति प्रक्रिया अनिवार्य गरिएको जनाएको छ। प्रत्यक्ष प्रसारणका लागि आवश्यक निवेदनको ढाँचा कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको पनि सूचनामा उल्लेख छ।
प्राप्त निवेदनका आधारमा सम्बन्धित स्थानको सुरक्षा संवेदनशीलता, व्यवस्थापन क्षमता तथा अन्य आवश्यक पक्षहरूको मूल्याङ्कन गरी अनुमति प्रदान गरिने प्रशासनले जनाएको छ।
सूचनाको अवज्ञा गर्दै अनुमति बिना भिडभाड गर्ने, अमर्यादित, उच्छृंखल, अवाञ्छित वा गैरकानुनी गतिविधि सञ्चालन गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।








