काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले हाइटीमाथि ३–० को सहज जित दर्ता गरेको छ।

शनिबार बिहान फिलाडेल्फिया स्टेडियममा सम्पन्न खेलमा ब्राजिलका लागि म्याथियस कुन्हाले दुई तथा भिनिसियस जुनियरले एक गोल गरे।

ADVERTISEMENT

खेलको २३औँ मिनेटमा कुन्हाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। त्यसपछि ३६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले टोलीको अग्रता दोब्बर बनाए। पहिलो हाफको इन्जुरी समयमा भिनिसियस जुनियरले गोल थपेपछि ब्राजिल ३–० को आरामदायी अवस्थामा पुगेको थियो।

ADVERTISEMENT

दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन सकेन। खेलभर बलमाथि नियन्त्रण कायम राखेको ब्राजिलले थप दुई गोल गरे पनि ती अफसाइडका कारण मान्य भएनन्। हाइटीले पाएका सीमित अवसरलाई पनि सदुपयोग गर्न सकेन।

यस जितसँगै ब्राजिल दुई खेलबाट चार अंक जोड्दै समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ। समान चार अंक भए पनि गोलअन्तरका आधारमा मोरक्को दोस्रो स्थानमा रहेको छ।

ADVERTISEMENT

समूहमा स्कटल्यान्ड तीन अंकसहित तेस्रो स्थानमा छ भने लगातार दोस्रो हार बेहोरेको हाइटी अंकविहीन रहँदै चौथो स्थानमा छ। यस हारसँगै हाइटीको नकआउट चरणमा पुग्ने सम्भावना पनि समाप्त भएको छ।

अब समूह चरणको अन्तिम खेलमा ब्राजिलले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने मोरक्कोले हाइटीको सामना गर्नेछ।