काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो बागमती प्रदेश अधिवेशन सुरु भएको छ । पार्टी स्थापना भएको चार वर्षपछि रास्वपाले मंगलबार प्रदेश अधिवेशन गरेको हो ।
हेटौंडामा आयोजित अधिवेशनको महामन्त्री कविन्द्र बुर्लाकोटीले उदघाटन गरे । पहिले पार्टी सभापति रवि लामिछानेले अधिवेशनको उद्घाटन गर्ने तय थियो । तर लामिछाने नगएपछि महामन्त्री बुर्लाकोटीले अधिवेशनको उदघाटन गरेका हुन् ।
बुर्लाकोटीले आगामी निर्वाचनमा जनताले परिवर्तनको पक्षमा ऐतिहासिक निर्णय गर्ने दाबी गरे । उनले रास्वपाप्रति आमनागरिकको अपेक्षा अत्यन्त उच्च रहेको उल्लेख गर्दै स्थानीय तहदेखि संघसम्मको निर्वाचनमा पार्टीले चामत्कारिक नतिजा हासिल गर्ने विश्वास व्यक्त गरे ।
महामन्त्री बुर्लाकोटीले खेतीरकिसानी गर्ने किसानदेखि ज्यालारमजदुरी गरेर जीवन निर्वाह गर्ने श्रमिकसम्मले रास्वपालाई आशा र भरोसाको केन्द्रका रूपमा हेरेको बताए । जनताले परम्परागत राजनीतिक दलबाट अपेक्षित परिवर्तन नपाएपछि नयाँ विकल्पका रूपमा रास्वपालाई विश्वास गरेको उनको भनाइ थियो ।

‘आमनागरिकको यो विशाल अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छौँ । स्थानीय तहबाटै परिवर्तन सम्भव छ र आगामी निर्वाचनमा लोभ–पापभन्दा माथि उठेर योग्य उमेदवार अघि सारेमा जनताले आश्चर्यजनक परिणाम दिनेछन्,’ उनले भने, ‘हामी व्यक्तिगत स्वार्थका लागि होइन, देशको भविष्य निर्माणका लागि राजनीतिमा आएका हौँ ।’
तर रास्वपाको मधेश प्रदेश अधिवेशन भने स्थगित भएको छ । मधेशका आठवटा जिल्ला अधिवेशन नभएकाले प्रदेश अधिवेशन स्थगित भएको हो । रास्वपा निर्वाचन आयोगले मंगलबार विज्ञप्ति जारी गरी प्रदेश अधिवेशन पुनः सञ्चालन हुने मिति, समय तथा संशोधित कार्यतालिकाबारे केन्द्रीय निर्वाचन आयोगबाट आधिकारिक रूपमा पछि जानकारी गराइने जनाएको छ ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको विधान, २०७९ (तेस्रो संशोधनसहित) को दफा ४१ तथा दफा ४९ बमोजिम केन्द्रीय निर्वाचन आयोगलाई प्राप्त अधिकार प्रयोग गरी मधेश प्रदेश अधिवेशनको निष्पक्ष, पारदर्शी, विश्वसनीय तथा विधिसम्मत सञ्चालन सुनिश्चित गर्न आवश्यक देखिएकाले मधेश प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधिहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्पूर्ण पार्टी सदस्यहरू, प्रतिनिधिहरू, उम्मेदवारहरू, प्रदेश तथा जिल्ला तहका पार्टी पंक्ति एवं सरोकारवालाहरूको जानकारीका लागि सूचित गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
रास्वपाका ५६ जिल्लामा अधिवेशन भएर कार्यसमितिसमेत चयन भइसकेको छ । तर मधेश प्रदेशमा भने रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालेनको गुटकै कारण आठवटै जिल्ला अधिवेशन हुन सकेको छैन । सिराहा अधिवेशनमा कुटाकुट भएपछि स्थगित भएको छ ।







