काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले सामाजिक सञ्जालमा सार्वजनिक भएको विवादास्पद अडियोमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्। उनले उक्त अडियो कृत्रिम बुद्धिमत्ता (एआई) लगायत प्रविधिको प्रयोग गरेर आफूलाई बदनाम गर्ने उद्देश्यले तयार पारिएको हुन सक्ने बताएका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै सुनारले आफूमाथि नियोजित रूपमा आरोप लगाइएको दाबी गरेका हुन्। उनले प्रहरीभित्रको भ्रष्टाचार र अनियमितताबारे प्रश्न उठाएकै कारण आफूलाई फसाउन खोजिएको आरोपसमेत लगाए। साथै, आफूविरुद्ध निष्पक्ष छानबिन गर्न माग गर्दै अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताएका छन्।
एक महिलालाई अपमानजनक शब्द प्रयोग गरेको र धम्की दिएको भनिएको अडियो सार्वजनिक भएपछि रास्वपाले सुनारमाथि आन्तरिक छानबिन सुरु गरेको छ। पार्टीको केन्द्रीय अनुशासन आयोगले घटनासँग सम्बन्धित प्रमाण संकलन गरिरहेको र सुनार तथा आरोपसँग जोडिएकी महिलासँग कुरा गर्ने तयारी गरेको जनाएको छ।
छानबिन पूरा नहुँदासम्म सुनारलाई सार्वजनिक पदाधिकारीको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुन पनि पार्टीले निर्देशन दिएको छ। पार्टीले आरोप पुष्टि भए कानुन र विधानअनुसार कारबाही गर्ने जनाएको छ।
यता, प्रहरीले भने औपचारिक उजुरी नपरेकाले कानुनी प्रक्रिया अघि बढाउन नसकेको जनाएको छ। प्रहरीका अनुसार सार्वजनिक भएको अडियोबारे विभिन्न माध्यमबाट जानकारी संकलन भइरहेको छ। उजुरी परेपछि अडियोको सत्यता जाँच गरी आवश्यक अनुसन्धान अघि बढाइनेछ।









