काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को सम्भावित प्रभावलाई ध्यानमा राख्दै नेपालमा तीन दिन उच्च सतर्कता अपनाइएको छ। बिहीबार रातिदेखि शनिबारसम्म देशका विभिन्न भागमा वर्षा, हिमपात र प्रतिकूल मौसमको जोखिम रहने पूर्वानुमान गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार मौसमको सम्भावित जोखिमलाई ध्यानमा राखेर सम्बन्धित निकाय तथा सुरक्षा अंगलाई पूर्वतयारी अवस्थामा रहन भनिएको छ।
विशेषगरी पहिलेदेखि जोखिम पहिचान भएका क्षेत्रमा सावधानी अपनाउन निर्देशन दिइएको छ।
सातै प्रदेशमा मौसमको प्रभाव पर्ने सम्भावना
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा वर्षा वा हिमपात हुन सक्छ।
शुक्रबार र शनिबार मौसम थप प्रतिकूल हुन सक्ने अनुमान छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा, मेघगर्जन, चट्याङ र हावाहुरीको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहन सक्ने प्राधिकरणले जनाएको छ।
चक्रवातको बाहिरी घेराबाट आउने बादल माथिल्लो वायुमण्डलको प्रणालीसँग मिसिँदा नेपालमा वर्षा तथा हिमपात हुन सक्ने मौसमविद्को आकलन छ। यद्यपि, तत्काल आत्तिनुपर्ने अवस्था नरहेको र सतर्क रहनुपर्नेमा मौसमविद्ले जोड दिएका छन्।
तीन दिन पदयात्रा नगर्न आग्रह
सम्भावित प्रतिकूल मौसमलाई ध्यानमा राख्दै अध्यागमन विभागले कात्तिक १२, १३ र १४ गते पदयात्रामा नजान आग्रह गरेको छ। यसअघि नै पदयात्रामा गइसकेकाहरूलाई पनि मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमा बस्न भनिएको छ।
हिमाली तथा उच्च पहाडी क्षेत्रमा यात्रा गर्दा पदमार्ग अवरुद्ध हुने, हिमपहिरो जाने र उद्धारमा कठिनाइ हुने जोखिम रहेकाले पर्यटक, पदयात्री तथा पर्वतारोहणमा जानेहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
सम्भावित जोखिमबाट बच्न अत्यावश्यक कामबाहेक यात्रा नगर्न, नदीकिनार तथा जोखिमयुक्त क्षेत्रमा नबस्न र मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न प्राधिकरणले अनुरोध गरेको छ।
भारतको तटीय क्षेत्रमा पनि सतर्कता
भारतको मौसम विभागका अनुसार चक्रवात ‘अर्नब’ आन्ध्र प्रदेशको तटीय क्षेत्रतर्फ अघि बढिरहेको छ। चक्रवातका कारण प्रतिघण्टा ११५ देखि १२५ किलोमिटरको गतिमा हावा चल्न सक्ने र गति १४० किलोमिटरसम्म पुग्न सक्ने पूर्वानुमान गरिएको छ।
चक्रवातको सम्भावित प्रभावलाई ध्यानमा राख्दै भारतका प्रभावित क्षेत्रमा विद्यालय बन्द गर्ने, रेल सेवा रद्द गर्ने तथा हवाई उडान प्रभावित हुन सक्ने चेतावनी जारी गरिएको विवरणमा उल्लेख छ।
नेपालमा पनि मौसम प्रतिकूल हुन सक्ने भएकाले सम्बन्धित निकायको निर्देशन पालना गर्न र जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न आग्रह गरिएको छ।
आपत्कालीन सम्पर्क नम्बर
- मौसमसम्बन्धी जानकारी: ११५५
- राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र: १२३४
- नेपाल प्रहरी: १००
- सशस्त्र प्रहरी बल: १११४
-
पर्यटक प्रहरी: ११४४








