काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग महत्वपूर्ण खेल खेल्दैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ।
नेपाल, अमेरिका र स्कटल्याण्डबीच जारी त्रिकोणात्मक शृङ्खलामा हालसम्म तीन खेल सम्पन्न भइसकेका छन्। जसमध्ये स्कटल्याण्डले आफ्ना दुवै खेल जित्दै उत्कृष्ट लय कायम राखेको छ।
स्कटल्याण्डले पहिलो खेलमा नेपाललाई डकवर्थ–लुइस–स्टर्न (डीएलएस) नियमका आधारमा दुई रनले पराजित गरेको थियो। त्यसपछि अमेरिकाविरुद्ध पनि डीएलएस नियमकै आधारमा दुई रनको रोमाञ्चक जित हात पारेको थियो।
यता नेपालले भने शनिबार सम्पन्न खेलमा अमेरिकालाई नौ विकेटले पराजित गर्दै आत्मविश्वास बढाएको छ। आजको खेलमा नेपाल स्कटल्याण्डसँग पहिलो हारको बदला लिँदै विश्वकप ग्लोबल क्वालिफायरमा छनोट हुने सम्भावनालाई जीवित राख्न चाहन्छ।
हाल आईसीसी क्रिकेट विश्वकप लिग–२ को अंकतालिकामा नेपाल सातौँ स्थानमा छ। नेपालले २६ खेलमा नौ जित, १५ हार र दुई खेल अनिर्णित खेल्दै २० अंक जोडेको छ।
नेपाललाई ग्लोबल क्वालिफायरमा छनोट हुन बाँकी सबै १० खेल जित्नुपर्ने कठिन समीकरण छ। साथै, एकदिवसीय मान्यता जोगाइराख्न शीर्ष ६ भित्र रहनुपर्ने भएकाले आजको खेल नेपालका लागि निकै महत्वपूर्ण मानिएको छ।
स्कटल्याण्ड भने ३० खेलमा १६ जित, आठ हार र छ खेल अनिर्णित खेल्दै ३८ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ।