काठमाडौं।  परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच नयाँ दिल्लीमा भएको भेटवार्तापछि नेपाल–भारतबीच तीन बुँदे संयुक्त घोषणा जारी गरिएको छ।

भेटवार्ताका क्रममा व्यापार, आर्थिक सहकार्य, सीमापार सम्पर्क, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा खेलकुदमार्फत दुई देशका जनताबीचको सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको थियो।

ADVERTISEMENT

जारी घोषणाअनुसार भएका सहमति यस प्रकार छन्।:
१ पहिलो बुँदामा २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत भारतले निर्माण गरेका ७२ स्वास्थ्य संस्था र १२ सांस्कृतिक सम्पदा परियोजना नेपाललाई हस्तान्तरण गरिएको छ। उक्त हस्तान्तरण भर्चुअल माध्यमबाट सम्पन्न भएको हो।

२ दोस्रो बुँदाअन्तर्गत सीमापार व्यक्तिगत विप्रेषणलाई सहज बनाउन भारतको यूपीआई र नेपालको नेसनल पेमेन्ट्स इन्टरफेसबीच आबद्धता सुरु गरिएको छ।

ADVERTISEMENT

३ तेस्रो बुँदामा भारतको डिजिटल इन्डिया भाषिनी कार्यक्रम र काठमाडौं विश्वविद्यालयबीच नेपालका लागि ‘भ्वाइस फर्स्ट’ भाषा अनुवाद प्लेटफर्मको डिजिटल पूर्वाधार विकास गर्न समझदारीपत्र आदानप्रदान गरिएको छ। उक्त अवसरमा दुवै देशका विदेशमन्त्री साक्षी बनेका थिए।

भेटपछि भारतले मन्त्री खनालसँगको छलफललाई फलदायी भएको उल्लेख गर्दै भविष्यमा पनि द्विपक्षीय सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाएको छ। भारत भ्रमणमा रहेका मन्त्री खनाल आज स्वदेश फर्कने कार्यक्रम रहेको छ।