काठमाडौँ । विगत केही दिनदेखि ओरालो लागेको सुनको मूल्य आज ह्वात्तै बढेको छ ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा २० हजार ५०० रुपैयाँले बढेको हो ।
गत शुक्रबार दुई लाख ९० हजारमा खरिद–बिक्री भएको एक तोला सुनको मूल्य आज तीन लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ ।
एक तोला चाँदीको मोल पाँच हजार ३४५ रुपैयाँ निर्धारण भएको छ । गत शुक्रबार एक तोला चाँदी पाँच हजार ४० मा किनबेच भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७३० र त्यति नै परिमाणको सेतो धातुको ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बजेटमा गरिएका नीतिगत परिवर्तन र भन्सार दरको वृद्धिका कारण नेपालको सुनचाँदी बजारमा सम्भवतः यो अहिलेसम्मकै सबैभन्दा ठूलो एकल दिनको मूल्य वृद्धि हो ।
सरकारले सुनमा लाग्ने भन्सार महसुल १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याउने घोषणा गरेको थियाे। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै राजस्व वृद्धि र विलासिताजन्य वस्तुको उपभोग नियन्त्रण गर्ने उद्देश्यले भन्सार दर बढाइएको बताएका थिए । भन्सार महसुल वृद्धि भएपछि आगामी दिनमा सुनको मूल्य अझ बढ्ने अनुमान गरिएको छ।








