काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले घृणाजन्य अभिव्यक्ति बन्द गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ । शान्ति सुरक्षा थप मजबुत बनाउन पनि आयोगले सरकारलाई निर्देशन दिएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा घृणाजन्य अभिव्यक्ति बढेको आयोगले जनाएको छ । ‘घृणाजन्य अभिव्यक्तिले अराजकतालाई प्रश्रय दिने र निर्वाचनको समयमा शान्ति सुरक्षामा समेत असर पर्ने देखिन्छ,’ आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आयोगका अनुसार, विगत केही दिनयता विभिन्न राजनीतिक दलका जिम्मेवार व्यक्तिहरूबाट एकार्काप्रति आक्षेप लगाउने, घृणाजन्य अभिव्यक्ति र अमर्यादित आरोप–प्रत्यारोप गरिएको छ ।
‘नेपालको संविधान र मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुनहरूले अभिव्यक्ति तथा विचारको स्वतन्त्रताको प्रत्याभूति गरेको भए तापनि अरूको मर्यादामा चोट पुग्ने र शान्ति सुरक्षामा आँच पुग्न सक्ने विषयलाई विशुद्ध विचार र अभिव्यक्ति स्वतन्त्रताको मात्र विषय मान्न सकिँदैन,’ आयोगले भनेको छ ।
कसैले पनि संविधान, कानुन र मानव अधिकारका अन्तर्राष्ट्रिय मूल्य–मान्यताविपरीत घृणाजन्य अभिव्यक्ति नदिन, सामाजिक सञ्जालको प्रयोग गर्दा शिष्ट एवम् मर्यादित हुन आयोगले आग्रह गरेको छ । ‘घृणायुक्त अभिव्यक्तिको प्रचारप्रसार नगर्न र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आयोग राजनीतिक दलका नेता, उमेदवार एवम् सर्वसाधारणलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।
यस्ता अभिव्यक्तिले समाजमा घृणा फैलाउनुका साथै शान्ति सुरक्षामा समेत चुनौती सिर्जना गर्न सक्ने आयोगले जनाएको छ । आयोगले अहिलेसम्म एक दर्जनभन्दा बढी उम्मेदवारलाई आचारसंहिता उल्लंघन गरेकोमा स्पष्टीकरण सोधिसकेको छ । यसमा धेरै हेट स्पिचका घटना पनि जोडिएका छन् । खासगरी आफूलाई बढी लोकप्रिय देखाउन खोज्दा हेट स्पिचको सहारा लिने गरिएको छ ।





