काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको टोलीले सोमबार भैरहवा कारागारको अनुगमन गरेको छ । गत चैत २२ देखि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई राखिएको कारगारको ब्लक नम्बर ४ को आयोग टोलीले निरीक्षण गरेको हो ।

आयोगकी आयुक्त लिली थापा, आयोगका लुम्बिनी कार्यालय प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा बिसीसहितले कारागार निरीक्षण गरेका थिए । उनीहरूले रविसँगसमेत कुराकानी गरेका थिए।
रवि लामिछानेले सबैभन्दा बढी अड्डासारको बिषयमा चासो राखेका थिए । उनले अदालतले अड्डासारका निम्ति अनुमति दिए पनि कारागार प्रशासनले त्यसमा बेवास्ता गरेको विषय उठाएका थिए ।

ADVERTISEMENT

थापाले रविलाई स्थानान्तरणका लागि अनुमति नदिइएकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिन् । ‘अदालतले भनिसक्दा पनि उहाँलाई जेल सार्न दिइएको रहेनछ । यस विषयमा कारागार व्यवस्थापन विभागसँग कुरा गर्छौँ,’ उनले भनिन् ।

आयुक्त थापाले काराागारभित्र शौचालयको अवस्था नाजुक रहेको पाइएको बताइन्। उनका अनुसार रवि रहेको कोठामा रेडियो छ। तर पत्रपत्रिकाको भने सुविधा छैन। कारागार पुगेर अनुगमन गरेर फर्केपछि संचारकर्मीहरूसँग कुरा गर्दै आयुक्त थापाले लामिछाने राखिएको कोठामा दुईवटा पंखा राखिएको बताइन् । उनले कोठाभित्र एसी नदेखेको बताइन् ।

ADVERTISEMENT

आयुक्त थापाले लामिछानेलाई सय दिनसम्म बन्दी कक्षबाट बाहिर हिडडुल गर्न नदिएर मानवअधिकारको हनन् गरिएको बताइन् । उनले कारागार व्यवस्थापनले सुरक्षाको कारण देखाउँदै झ्याल थुनेको विषय पनि उठाइन् ।

इन्सेककी प्रतिनिधि रिमा बिसीले कोठाभित्र दुईवटा पंखा रहेको बताइन् । ‘एउटा ठूलो फलामको पंखा र अर्को स्ट्यान्ड पंखा छ । झ्यालहरू चाहिँ खोलिएको छैन । नजिकै घरहरू भएको र सर्पदंशको डर भएकाले झ्यालहरू बन्द गरिएको प्रशासनले बताएको छ । तर हामीले मोटो जाली वा डन्डी राखेर भए पनि झ्याल खोल्न भन्यौ । उहाँहरूले स्वीकार्नुभएको छ,’ उनले भनिन् ।