काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले रिट तथा निवेदन दर्ता गर्न अस्वीकार गरेको विरोधमा आज दिउँसै लालटिन बालेर प्रदर्शन गर्ने निर्णय गरेको छ।
सोमबार कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधान सँग भेटघाटपछि बसेको बारको बैठकले सर्वोच्च अदालत प्रशासनबाट ‘अनपेक्षित क्रियाकलाप र हर्कत’ भएको निष्कर्ष निकाल्दै विरोध कार्यक्रम घोषणा गरेको हो।
बारका महासचिव केदार कोइराला का अनुसार नेपाल बार परिसरमा कानुन व्यवसायीहरूले न्याय, विवेक र स्वच्छ प्रक्रियाको खोजीसहित विरोध कार्यक्रम सञ्चालन गर्नेछन्।
बारले सर्वोच्च अदालतमा दर्ता हुन आएका रिट निवेदन तथा अन्य निवेदनहरू प्रशासनले दर्ता नगरी दरपीठ गरी फिर्ता पठाएको भन्दै त्यसले न्यायिक प्रक्रियामा अवरोध सिर्जना गरेको ठहर गरेको छ।
बारद्वारा जारी निर्णयमा संविधानको धारा १३६, न्याय प्रशासन ऐन २०७३ को दफा ३५ तथा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ७ र ८ अनुसार कामु प्रधानन्यायाधीशले निवेदन दर्ता गर्न आदेश दिए पनि अदालत प्रशासनले उक्त आदेश पालना नगरेको उल्लेख गरिएको छ।
बारले अदालत प्रशासनको यस्तो व्यवहारलाई ‘असाधारण र अप्राकृतिक’ भन्दै न्याय प्रशासनको अन्तिम जिम्मेवारी बहन गर्ने कामु प्रधानन्यायाधीशको आदेशको समेत अवज्ञा गरिएको आरोप लगाएको छ।
निर्णयमा अदालतमा विचाराधीन विषयमा संसदमा टिप्पणी गरिएकोप्रति पनि गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। संविधानको धारा १०५ ले अदालतमा विचाराधीन विषयमा सदनमा छलफल गर्न रोक लगाए पनि त्यसको उल्लंघन भएको बारको भनाइ छ।
नेपाल बारले संसदमा गरिएको टिप्पणीलाई ‘आवेश प्रेरित र दम्भमा आधारित उन्मादी अभिव्यक्ति’ को संज्ञा दिँदै त्यस्ता अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउन सभामुख डोलप्रसाद अर्याल को ध्यानाकर्षण गराएको जनाएको छ।
बारले आफ्ना सल्लाहकार तथा विभिन्न एकाइबाट प्राप्त सुझावका आधारमा थप आन्दोलनका कार्यक्रम अघि बढाइने पनि जनाएको छ।





