काठमाडौँ। थापाथली क्षेत्रका अनधिकृत बस्ती हटाउने क्रममा ६८ परिवार सरकारको सम्पर्कमा आएका छन् । काठमाडौँ महानगरपालिका र सम्बन्धित निकायको समन्वयमा प्रभावित परिवारहरूको व्यवस्थापन तथा अस्थायी बसोबासको प्रक्रिया अघि बढाइएको छ ।
सरकारी विवरणअनुसार थापाथली, गोठाटार र मनोहरा टोल क्षेत्रमा अनधिकृत रूपमा रहेका घरधुरी हटाउने कार्य जारी छ । थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ अनधिकृत घरधुरी रहेको पाइएको छ ।
बस्ती खाली गराउने क्रममा नेपाल प्रहरी र काठमाडौँ महानगरपालिकाका सुरक्षाकर्मीले प्रभावित परिवारका सामान सुरक्षित रूपमा उठाउन र ढुवानी गर्न सहयोग गरेका छन् । स्थानीय बासिन्दाको समेत सहकार्यपछि थापाथली क्षेत्रमा बस्ती खाली गर्ने काम शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार हालसम्म थापाथली क्षेत्रका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन् भने अन्य प्रभावित परिवारहरूसँग पनि सम्पर्क गर्ने कार्य भइरहेको छ ।
सम्पर्कमा आएका परिवारलाई अस्थायी रूपमा दशरथ रंगशालामा राखी उनीहरूको विवरण संकलन गर्ने काम भइरहेको छ । त्यसपछि उनीहरूलाई काठमाडौँका विभिन्न होटलहरूमा अस्थायी रूपमा राख्ने तयारी गरिएको छ ।
हाल घरायसी सामानहरू कीर्तिपुरस्थित सुन्दरीघाटमा रहेको राधास्वामी सत्संग व्यास नेपाल परिसरमा सुरक्षित रूपमा राखिएको छ ।
सरकारी योजना अनुसार होटलमा राखिएका परिवारहरू वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने प्रक्रिया भोलिदेखि सुरु गरिने बताइएको छ । वास्तविक सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका–१ स्थित सरकारी अपार्टमेन्टमा स्थानान्तरण गर्ने तयारी रहेको जनाइएको छ ।







