काठमाडौँ। धादिङ, नुवाकोट र रसुवातर्फ चल्ने सार्वजनिक सवारीसाधन अब गोँगबुस्थित नयाँ बसपार्कभित्रबाट मात्रै सञ्चालन हुन थालेका छन्। यसअघि यी जिल्लाका बसहरू माछापोखरी र बालाजु क्षेत्रको सडक किनारबाट सञ्चालन हुँदै आएका थिए।
काठमाडौँ महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको सरोकारवाला निकायको बैठकले उपत्यकाभित्रका सबै सार्वजनिक यातायातलाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार तीन दिनभित्र सबै सवारीसाधन अनिवार्य रूपमा बसपार्कभित्रबाट सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको थियो, जसअनुसार आजदेखि कार्यान्वयन सुरु भएको हो।
काठमाडौँ महानगरपालिकाले २०५६ सालमा उपत्यकामा प्रवेश गर्ने सार्वजनिक सवारीसाधनलाई व्यवस्थित गर्न नयाँ बसपार्क सञ्चालनमा ल्याएको थियो। तर धादिङ, रसुवा र नुवाकोटतर्फ जाने बस तथा माइक्रोबसहरू लामो समयदेखि माछापोखरी र बालाजु क्षेत्रमा काउण्टर राखेर सञ्चालन हुँदै आएका थिए।
गोँगबुस्थित १६१ रोपनी क्षेत्रमा फैलिएको राष्ट्रिय बसपार्क सञ्चालनमा भए पनि यी जिल्लाका सवारीसाधनले बसपार्क प्रयोग नगर्दा सडकमा अव्यवस्था र ट्राफिक समस्या देखिँदै आएको थियो। अहिले ती सबै बसहरू बसपार्कभित्रबाट सञ्चालन हुन थालेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सडक किनारमा अनियन्त्रित पार्किङ र बस सञ्चालनका कारण ट्राफिक व्यवस्थापनमा समस्या हुँदै आएको थियो। चक्रपथ आसपास बसहरूको अनावश्यक आवतजावतले जाम बढाएको भन्दै नयाँ व्यवस्थाले त्यसमा सुधार आउने अपेक्षा गरिएको छ।
नयाँ बसपार्क सञ्चालन गर्ने लोत्से बहुउद्देश्यीय प्रालिका अनुसार नुवाकोट, रसुवा र धादिङतर्फ जाने सवारीसाधनका लागि छुट्टै ट्रयाक र टिकट काउण्टरको व्यवस्था गरिएको छ।
हाल काठमाडौँ उपत्यकामा झन्डै २० लाख सवारीसाधन सञ्चालनमा रहेको र बढ्दो सवारी चाप तथा सीमित सडक संरचनाका कारण ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ।







