काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विभिन्न विद्यालय तथा परोपकारी संस्थालाई सहयोग सामग्री प्रदान गरेको छ।
बैंकले झापाको बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित ‘हाम्रो साझा घर’ लाई फर्निचर तथा बाराको निजगढस्थित सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र झापाको मेचीनगरस्थित अरनिको माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हो।
ज्येष्ठ २१ गते आयोजित कार्यक्रममा बैंकका केन्द्रीय सञ्चालन विभाग प्रमुख प्रकाश श्रेष्ठ र बिर्तामोड सर्कल हेड डेनराज सापकोटाले ‘हाम्रो साझा घर’ की अध्यक्ष विष्णु दिदी कार्कीलाई बेड हस्तान्तरण गरेका थिए। उक्त संस्थाले हाल ४४ भन्दा बढी असहाय, अशक्त तथा ज्येष्ठ नागरिकलाई आश्रय र हेरचाह प्रदान गर्दै आएको छ।
त्यसैगरी, ज्येष्ठ २२ गते सम्पन्न कार्यक्रममा वीरगञ्ज सर्कल हेड गोपालप्रसाद सुवेदीले सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयका प्रधानाध्यापक उमेश कुमार स्वर्णकारलाई ल्यापटप र प्रोजेक्टर हस्तान्तरण गरेका थिए।
सोही दिन अर्को कार्यक्रममा केन्द्रीय सञ्चालन विभाग प्रमुख प्रकाश श्रेष्ठ तथा बिर्तामोड सर्कल हेड डेनराज सापकोटाले अरनिको माध्यमिक विद्यालयका प्रधानाध्यापक विशाल भट्टराईलाई स्मार्ट बोर्ड र ल्यापटप प्रदान गरेका थिए।
सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयमा २६३ भन्दा बढी तथा अरनिको माध्यमिक विद्यालयमा ३५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
बैंकले उपलब्ध गराएको सहयोगबाट ‘हाम्रो साझा घर’ मा आश्रित व्यक्तिहरूको दैनिक जीवन थप सहज र स्वास्थ्यकर बन्ने विश्वास व्यक्त गरेको छ। साथै विद्यालयहरूलाई प्रदान गरिएको डिजिटल शैक्षिक सामग्रीले आधुनिक सिकाइ प्रणालीलाई सुदृढ बनाउने, विद्यार्थी सहभागिता बढाउने तथा गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्न सहयोग पुग्ने बैंकको अपेक्षा रहेको छ।
एनआईसी एशिया बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।








