काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले सार्वजनिक कार्यक्रममा भिडियो रिपोर्टिङ गरिरहेका पत्रकार दिनेश थापामाथि भएको दुर्व्यवहारप्रति गम्भीर आपत्ति जनाएको छ। संघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको हो।
संघका अनुसार हिट नेपाल युट्युब च्यानलका क्यामेरा पर्सन सरोज मोगनाद्वारा संघका केन्द्रीय सदस्य तथा गसिप लाइभ डटकमका सम्पादक पत्रकार दिनेश थापामाथि सार्वजनिक कार्यक्रममा कुटपिट र दुर्व्यवहार भएको भन्दै यसप्रति संघले गम्भीर चिन्ता व्यक्त गरेको छ।
विज्ञप्तिमा रिपोर्टिङजस्तो पेशागत कार्यमा संलग्न पत्रकारमाथि भएको धक्कामुक्की, हातपात र रक्ताम्य हुने गरी गरिएको आक्रमण केवल एक व्यक्तिमाथिको हिंसा नभई समग्र प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामाथिको प्रहार भएको उल्लेख गरिएको छ।
संघका महासचिव गोपीकृष्ण चापागाईंद्वारा जारी विज्ञप्तिमा पत्रकारिताको नाममा क्यामेरा बोकेर दादागिरी, धम्की तथा हिंसात्मक व्यवहार कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट गरिएको छ। यस्ता गतिविधिले सम्पूर्ण पत्रकारिता क्षेत्रको गरिमामाथि आँच पुर्याउने संघको भनाइ छ।
संघले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न, पीडित पत्रकारलाई न्याय दिलाउन तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित पक्षलाई सचेत गराएको छ। साथै पत्रकारहरूलाई सुरक्षित र मर्यादित वातावरणमा आफ्नो पेशागत दायित्व निर्वाह गर्न दिन सबै आयोजक तथा सरोकारवालासँग आग्रह गरेको छ।
घटनामा घाइते भएका पत्रकार दिनेश थापाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै संघले पत्रकारमाथि हुने कुनै पनि प्रकारका हिंसा, दुर्व्यवहार र दमनविरुद्ध सशक्त रूपमा उभिने प्रतिबद्धता जनाएको छ।











