काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह को तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति सरकारको निष्ठामा कुनै शंका नगर्न आग्रह गरेका छन्।सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले अग्रगमनको बाटोमा अघि बढ्ने विषयमा कुनै द्विविधा नरहेको स्पष्ट पारे।
उनले सांसदहरूले दिएका सबै सुझावहरूलाई सरकारले ग्रहण गरेको र ती सुझावहरू आगामी बजेटमा समावेश गर्ने प्रतिबद्धता जनाए।‘सरकारले सबै सुझावहरूलाई ग्रहण गरेको छ। लिखित तथा मौखिक धारणा सबैको स्वामित्व हो। प्रतिक्रिया बजेटमा समावेश गर्छु,’ उनले भने, ‘हामी पाङ्ग्रा मात्र फेर्न आएका होइनौं, हामी अग्रगमनको बाटोमा जाने हो।’
वाग्लेले आफूहरू चुनावमा सुशासनका मुद्दा लिएर जनतासामु गएको र जनमतले त्यसलाई अनुमोदन गरेको बताए।उनले ट्रेड युनियनसम्बन्धी विषयमा उठेका प्रश्नको जवाफ दिँदै सरकारले दलगत रूपमा सरकारी सेवाभित्र रहेका संगठन मात्र खारेज गरेको स्पष्ट पारे।
‘सरकारी सेवाभित्रको दलगत संगठन खारेज गरेको हो, समग्र ट्रेड युनियन आन्दोलन होइन,’ उनले भने।उनले ट्रेड युनियन आन्दोलनको ऐतिहासिक भूमिकालाई स्मरण गर्दै गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारी जस्ता नेताहरू त्यही आन्दोलनबाट उदाएको उल्लेख गरे।
अर्थमन्त्री वाग्लेले सरकारले सामाजिक उदार लोकतन्त्रमा विश्वास गर्ने र समग्र ट्रेड युनियन मूल्यलाई सम्मान गर्ने पनि स्पष्ट पारे।उनले उक्त विषय अहिले अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै कानुनी प्रक्रियालाई सरकारले सम्मान गर्ने बताए।










