काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीप्रति कडा आपत्ति जनाएको छ। शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्य संयोजक समितिको बैठकले उक्त कदम गलत भएको निष्कर्ष निकाल्दै त्यसको विपक्षमा उभिने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा नेता जगन्नाथ खतिवडाले विद्यार्थी संगठनहरूलाई क्याम्पसमा प्रतिबन्ध लगाउने र ट्रेड युनियनमाथि अंकुश लगाउने विषयले विद्यार्थी तथा श्रमिकहरूको अधिकार कुण्ठित गर्ने बताएका छन्। उनले यस्ता निर्णय लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको धारणा व्यक्त गरे।
बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, सरकारका गतिविधि, पार्टीको आगामी कार्ययोजना तथा विभिन्न कमिटीहरूको समायोजनका विषयमा निरन्तर छलफल भइरहेको उनले जानकारी दिए। हालसम्म ४५ जना सदस्यहरूले आफ्नो धारणा राखिसकेको पनि उनले बताए।
बैठक वैशाख ३ गतेसम्मका लागि स्थगित गरिएको र वैशाख ४ गतेभित्र सम्पन्न गर्ने तयारी गरिएको खतिवडाले उल्लेख गरे।