काठमाडौं । प्रतिनिधिसभाको बैठक बिहीबार पनि बस्दैछ। बिहीबार बिहान ११ बजे बस्ने बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि भएको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ।
आजको बैठकमा प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नहरूको जवाफ दिने कार्यसूची तय भएको छ।
बुधबारको प्रतिनिधिसभा बैठककको कार्यसूचीमा प्रधानमन्त्री वालेन्द्र शाहले छलफलका लागि प्रस्ताव पेस गर्ने कार्यसूची भए पनि सभामुख डोलप्रसाद अर्यालले अचानक अर्थमन्त्रीलाई बोलाएपछि विपक्षी दलहरूले संसदको बैठक अवरोध गरेका थिए। प्रधानमन्त्री खोन्दै बुधबार दिनभर संसदको कामकारबाही अवरुद्ध बनेको थियो । जसकारण नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ नै भएन ।
तर आज भने कार्यसूचीमै प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले जवाफ दिने कार्यसूची छ। जवाफ दिने कार्यक्रम सकिएपछि नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसलगत्तै सभामुखले आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
आजकै बैठकमा अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षका लागि ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । यसलाई बजेट पूर्वको छलफलको महत्त्वपूर्ण प्रक्रिया मानिन्छ।








