काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारका लागि निर्धारित बैठक स्थगित भएको छ । संघीय संसदका महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सूचनामा बैठक असार १३ गते शनिबारका लागि सरेको जनाइएको छ ।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ६ को ३ बमोजिम आज दिउँसो १ बजेका लागि यसअघि सूचनामार्फत् तोकेको बैठक पुनः सरेको जानकारी दिएका हुन् । यसअघि असार ११ गतेका लागि बैठक पूर्वनिर्धारित भएकामा पहिलो सूचनामार्फत् स्थगन भएको थियो ।
चितवनको भरतपुरको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन लम्बिएका कारण बैठक सरेको हो । संसद् सचिवालयले शुक्रबार बैठकमा पाँचवटा कार्यसूची तय गरेको थियो । तर चितवनमा सत्तारुढ रास्वपाको पदाधिकारी निर्वाचन हुने भएपछि आजको बैठक शनिबारलाई सारिएको छ ।





