कञ्चनपुर। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तीव्र बन्दै जाँदा कञ्चनपुरका बादी समुदाय भने परम्परागत चुनावी आश्वासनभन्दा आफ्नो समस्या समाधानको ठोस आधार खोजिरहेका छन्। जिल्लाका गुन्यालफाँटा, गर्जमुनी, कृष्णपुर, भीमदत्तनगरको जमुनाभाडी, सब्जीमण्डी, दोधारा चाँदनी र पुनर्वास क्षेत्रमा दुई सयभन्दा बढी बादी परिवारको बसोबास छ।

चुनावी प्रचारका क्रममा उम्मेदवारहरू मत माग्न बस्तीमा पुगिरहेका छन्। तर स्थानीय मतदाताले यसपटक स्पष्ट कार्ययोजना, कार्यान्वयनको प्रतिबद्धता र संविधानले प्रत्याभूत गरेको गास, बास र कपासको सुनिश्चितता गर्न सक्ने आधार मागिरहेका छन्।
स्थानीय पदम बादी रानाका अनुसार विगतमा विभिन्न आयोग र कार्यक्रम घोषणा भए पनि समुदायको जीवनस्तरमा अपेक्षित सुधार हुन सकेको छैन। सुरक्षित आवास, युवालाई स्वदेशमै रोजगारी, शिशुदेखि उच्च शिक्षासम्म निःशुल्क शिक्षा र बसोबास गरिरहेको जग्गाको स्वामित्व सुनिश्चित गर्ने एजेण्डा ल्याउने उम्मेदवारलाई मात्र समर्थन गरिने उनले बताए।
दुरा कुमालले पनि चुनावी प्रतिबद्धतामा मात्रै विश्वास नगरी व्यवहारमा कार्यान्वयन हुने आधार हेरेर निर्णय गरिने बताए। उनका अनुसार बादी समुदाय सामाजिक, आर्थिक र शैक्षिक रूपमा पछाडि परेको छ र महिलाको अवस्था अझ संवेदनशील छ। महिला सशक्तीकरण, लक्षित कार्यक्रम र सामाजिक उत्पीडन अन्त्यका विषयलाई प्राथमिकता दिने उम्मेदवार समुदायको रोजाइमा पर्ने उनले उल्लेख गरे।
स्थानीय श्याम कुमालले रोजगारीको अभावमा युवाहरू भारततर्फ पलायन हुन बाध्य भएको बताए। दैनिक जीविकोपार्जनमै कठिनाइ भइरहेका बेला अन्य आवश्यकता पूरा गर्ने अवस्था नरहेको उनको भनाइ छ। स्वदेशमै रोजगारी सिर्जना गर्न सक्ने स्पष्ट योजना भएका उम्मेदवारको खोजीमा समुदाय रहेको उनले बताए।
जानकी कुमालका अनुसार सुरक्षित आवास, जातीय विभेद अन्त्य र सामाजिक सम्मान सुनिश्चित गर्न दीर्घकालीन योजना आवश्यक छ। केही बस्ती नदी कटानको जोखिममा रहेकाले तटबन्ध निर्माण र सुरक्षित पुनःस्थापनाको मागसमेत गरिएको छ।
बादी समुदायले परम्परागत रूपमा माटोका भाँडाकुँडा बनाउनेलगायत पेसाबाट जीविकोपार्जन गर्दै आएका थिए। तर पछिल्लो समय लगानी र बजार अभावका कारण उक्त पेसा संकटमा परेको छ। समुदायले आफ्नो आर्थिक, सामाजिक र सांस्कृतिक मुद्दासँगै परम्परागत सीप संरक्षणका लागि दल र उम्मेदवारले ठोस योजना ल्याउनुपर्ने माग गरेका छन्।








