काठमाडौं । प्रतिनिधिसभाको आगामी असोज १५ गतेसम्मको सम्भावित कार्यतालिका सार्वजनिक भएको छ ।

क्यालेन्डरमा कुन–कुन दिन बैठक बस्ने र ती बैठकमा अघि बढाइने सम्भावित कार्यसूची समावेश भए पनि प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने राखिएको छैन ।

ADVERTISEMENT

यसअघि भदौ १० गते प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सञ्चालन गर्ने तय भएको थियो । तर, सोही दिन रसुवाको भोटेकोशी क्षेत्रमा विनाशकारी बाढी आएपछि कार्यक्रम प्रभावित भएको थियो । त्यसपछि प्रश्नोत्तर कार्यक्रम पुनः कहिले सञ्चालन गर्ने भन्ने टुंगो लागेको छैन ।

ADVERTISEMENT

प्रतिनिधिसभा नियमावलीको नियम ५६ ले प्रधानमन्त्री वा उहाँको कार्यक्षेत्रसँग प्रत्यक्ष सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा निर्धारण गर्नुपर्ने व्यवस्था गरेको छ ।

त्यस दिन कुनै कारणले बैठक बस्न नसकेमा त्यसपछि लगत्तै बस्ने बैठकको पहिलो एक घण्टामा प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था पनि नियमावलीमा छ । तर, आगामी असोज १५ गतेसम्मको क्यालेन्डरमा भने यस्तो कार्यक्रम समावेश गरिएको छैन ।

ADVERTISEMENT

क्यालेन्डरअनुसार भदौ ३० र ३१ गते तथा असोज १, ५, ६, ७, १३, १४ र १५ गते प्रतिनिधिसभा बैठक बस्नेछ । यस अवधिमा संसद्मा रहेका विभिन्न विधेयकलाई विषयगत समितिमा पठाउने तथा समितिमा दफावार छलफल अघि बढाउनेलगायतका सम्भावित कार्यसूची राखिएका छन् ।