काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले उम्मेदवारका लागि फाराम वितरण जारी राखेको छ। निर्वाचन समितिले मनोनयनको समय आज साँझ साढे सात बजेसम्म तोकेको छ।
निर्वाचन समितिका अनुसार अहिलेसम्म सभापति पदमा उम्मेदवारी दिने भन्दै चार जनाले फाराम लिएर गएका छन्। तर, फाराम लैजानेहरूको नाम र नम्बर अहिलेसम्म टिपिएको छैन। सबै विवरण मनोनयन दर्ताको समयमा मात्र लिखित रूपमा राखिने निर्वाचन समितिले जानकारी दिएको छ।
निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार, सभापति पदका उम्मेदवारले ३० हजार रुपैयाँ, उपसभापति र महामन्त्री पदका उम्मेदवारले २५ हजार रुपैयाँ, सहमहामन्त्रीका उम्मेदवारले २० हजार र केन्द्रीय सदस्य पदका उम्मेदवारले १० हजार रुपैयाँ बुझाउनुपर्ने व्यवस्था रहेको छ।
त्यसैगरी, विशेष पक्ष र संस्थापन समूहबीच विवाद मिलाउनका लागि छलफल जारी रहेको छ। उक्त छलफलको निष्कर्षअनुसार विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढ्नेछ भने संस्थापन समूहले विशेष पक्षको कामकारबाहीलाई हेरेर रणनीति निर्माण गर्ने तयारी गरेको छ।
यसैबीच, पार्टी केन्द्रीय कार्यालयमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा केन्द्रीय समिति बैठक बसेको छ। बैठक रोकेर उनी नेताहरूबीचको छलफलमा सहभागी भएका छन्।








