काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री राजिव गुरुङ ‘दीपक मनाङे’ नेपाली कांग्रेस प्रवेश गरेका छन्। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले सोमबार गुरुङलाई कांग्रेसमा प्रवेश गराएको हो। कांग्रेस सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुईकेलले गुरुङ पार्टी प्रवेश गरेको जानकारी दिएका छन्।
उनका अनुसार कांग्रेस प्रवेश गरेलगत्तै गुरुङलाई मनाङ संयोजकको जिम्मेवारी दिइएको छ। १५औँ महाधिवेशन तयारी समितिका संयोजक तथा पूर्वमहामन्त्री शशांक कोइरालाले गुरुङलाई मनाङ संयोजक तोकेका हुन्।
गुरुङ यसअघि मनाङबाट दुईपटक स्वतन्त्र उम्मेदवारका रूपमा प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। प्रदेश राजनीतिमा सक्रिय रहेका उनी पछि नेकपा एकीकृत समाजवादीमा समेत सक्रिय भएका थिए।
नेकपा एकीकृत समाजवादी नेकपा बनेपछि भने उनी राजनीतिक रूपमा निष्क्रिय रहेका थिए। पछिल्लो समय उनी कांग्रेस नेतृत्वसँग नजिकिएको देखिएको थियो।निवर्तमान सभापति देउवा स्वदेश फर्किँदा गत साउन २८ गते गुरुङ उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसमेत पुगेका थिए। गुरुङको कांग्रेस प्रवेशसँगै मनाङमा पार्टीको संगठन विस्तार र आगामी १५औँ महाधिवेशनको तयारीमा उनको भूमिकालाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।








