काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज साँझ सार्वजनिक गर्ने भएको छ।परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार साँझ ८ बजे पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक गरिनेछ।

उनले विद्यार्थीहरूले भने राति ९ बजेपछि आफ्नो नतिजा हेर्न सक्ने जानकारी दिए।उनले भने, “पत्रकार सम्मेलन ८ बजे गर्नेछौं, नतिजा हेर्न ९ बजेपछि मिल्छ।”राष्ट्रिय परीक्षा बोर्डले यसअघि बैठक बसेर नतिजा सार्वजनिक गर्ने निर्णय गरिसकेको छ।यस वर्षको एसईई परीक्षा गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो।

ADVERTISEMENT

यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले नतिजा प्रकाशन प्रक्रिया छिटो सम्पन्न भएको बोर्डले जनाएको छ।

यस वर्ष एसईई परीक्षाका लागि ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए।जसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना तथा ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना विद्यार्थी सहभागी भएका थिए।परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा अन्य ७ जना रहेका छन्।

बोर्डका अनुसार नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस, आईभीआर र विभिन्न वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।

एसएमएस र आईभीआरबाट नतिजा हेर्ने माध्यम:

–नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा)
–जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)
–एम्बिसन गुरु: ३१०६९ (SMS सेवा मात्र)

वेबसाइटमार्फत नतिजा हेर्न सकिने प्लेटफर्महरू:

–आधिकारिक सरकारी साइट: www.see.gov.np र www.neb.gov.np
–नेपाल टेलिकम: www.see.ntc.net.np
–कान्तिपुर पब्लिकेसन्स: www.ekantipur.com
–इडियु सञ्जाल: www.see.edusanjal.com
–खल्ती: https://khalti.com/app

विद्यार्थीले आफ्नो सिम्बोल नम्बर प्रयोग गरेर नतिजा हेर्न सक्नेछन्।