काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको छ।परीक्षा नियन्त्रण कार्यालयमा बसेको बैठकले एसईईको नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको हो।
यस वर्षको एसईई परीक्षा गत चैत १९ गतेदेखि २९ गतेसम्म देशभर सञ्चालन गरिएको थियो।बोर्डका अनुसार यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले नतिजा प्रकाशन प्रक्रिया छिटो सम्पन्न भएको हो।
यस वर्ष एसईई परीक्षाका लागि ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए।जसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना तथा ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना विद्यार्थी सहभागी भएका थिए।परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा अन्य ७ जना रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरूले बोर्डको आधिकारिक वेबसाइट, एसएमएस तथा अन्य अनलाइन माध्यमबाट आफ्नो नतिजा हेर्न सक्नेछन्।








