काठमाडौं । नेपाल प्रहरीका प्रमुख आइजीपी दानबहादुर कार्कीले नेपालको जटिल भूगोल, अव्यवस्थित सडक संरचना तथा कमजोर इन्जिनियरिङका कारण सवारी दुर्घटना बढ्दै गएको बताएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले देशभर जथाभावी निर्माण गरिएका सडक र डोजर प्रयोगबाट खोलिएका अव्यवस्थित बाटाहरू दुर्घटनाको प्रमुख कारण बनेको बताए।

ADVERTISEMENT

आइजीपी कार्कीले नेपालमा सवारी दुर्घटनाबाट हुने मानवीय क्षति अत्यन्त दुःखद बन्दै गएको उल्लेख गर्दै दैनिक औसतमा आठ जनासम्मको मृत्यु हुनु गम्भीर चिन्ताको विषय भएको बताए।उनले भने, “गाउँगाउँमा वडा अध्यक्ष र स्थानीय नेतृत्वको इच्छाअनुसार जथाभावी डोजर चलाएर बनाइएका सडकले दुर्घटना निम्त्याइरहेका छन्। ती सडक इन्जिनियरिङ हिसाबले कत्तिको उपयुक्त छन् भन्ने प्रश्न गम्भीर रूपमा उठेको छ।”

उनका अनुसार यस्ता अव्यवस्थित सडक संरचनाले जलवायु परिवर्तनका असरलाई थप जटिल बनाएको छ।बाढी, पहिरो तथा मनसुनजन्य विपद् बढ्नुमा अव्यवस्थित सडक निर्माणको समेत भूमिका रहेकोतर्फ ध्यान दिनुपर्ने उनले बताए।कार्कीले सवारी दुर्घटना राज्य, यातायात व्यवसायी, मजदुर युनियन तथा सम्पूर्ण नागरिकको साझा चिन्ताको विषय भएकाले यसको न्यूनीकरणका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए।

ADVERTISEMENT

उनले पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनको प्रभावले नेपालमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का घटना बढ्दै गएको र त्यसले सडक दुर्घटनाको जोखिम अझ बढाएको बताए।“दुर्घटनाको पीडा कसैलाई पनि नपरोस् भन्ने सोचका साथ सबैले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ,” उनले भने।

विशेषगरी चाडपर्वका बेला हुने ठूला सवारी दुर्घटनाले मानवीय क्षतिसँगै राष्ट्रलाई ठूलो आर्थिक क्षति पुर्‍याइरहेको उनले उल्लेख गरे।आइजीपी कार्कीले सुरक्षित सडक संरचना, प्रभावकारी ट्राफिक व्यवस्थापन र जिम्मेवार सवारी सञ्चालनमार्फत मात्रै दुर्घटना न्यूनीकरण सम्भव हुने बताए।