काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात अर्नबको अवशेष र पश्चिमी वायुको आंशिक प्रभावले देशभर वर्षा तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा मनाङको ताल मौसम मापन केन्द्रमा १०४.४ मिलिमिटर रेकर्ड भएको छ।
महाशाखाले शनिबार बिहान ६ः२४ बजे सार्वजनिक गरेको विवरणअनुसार देशका अधिकांश स्थानमा मध्यम वर्षा भएको छ। गण्डकी प्रदेशका थोरै स्थान तथा मधेस र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भएको छ।
महाशाखाका अनुसार आज अपराह्नदेखि चक्रवात अर्नबको प्रभाव क्रमिक रूपमा कमजोर हुँदै जाने अनुमान छ। यद्यपि दिउँसो कोसी, मधेस र बागमती प्रदेशका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
त्यस्तै, गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा पनि वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
कोसी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने थोरै स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान छ।
आज राति हिमाली भेगका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ। कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।









