काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाल पग्लिने, हिमपहिरो जाने र हिमताल फुट्ने समस्या कुनै एक देश विशेषको मात्रै नभएको बताएका छन्।

शुक्रबार जनकपुरधाममा पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले रसुवाको भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको विपत्तिले नेपालसँगै विश्वलाई नै स्तब्ध बनाएको बताए।

ADVERTISEMENT

उनले भोटेकोशीमा आएको घटनालाई सामान्य बाढीका रूपमा बुझ्न नहुने बताए। हिमाल पग्लिएर तथा हिमताल विस्फोट भएर प्रलयको रूप लिएको भन्दै उनले विश्व समुदायले यसलाई गम्भीर रूपमा लिनुपर्ने धारणा राखे।

ADVERTISEMENT

प्रचण्डका अनुसार अहिले वैज्ञानिक तथा विज्ञहरूले घटनाको कारणबारे अध्ययन गरिरहेका छन्। यस्तो घटनाले नेपालले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय समुदायसँग थप बलियो रूपमा आवाज उठाउने अवस्था बनेको उनले बताए।

‘हिमपहिरो जाने, हिउँ पग्लिने र हिमताल फुट्ने कुरा कुनै देश विशेषको समस्या होइन, विश्वभरिकै समस्या हो,’ उनले भने।प्रचण्डले आफू प्रधानमन्त्री हुँदा संयुक्त राष्ट्रसंघको महासभा र कोप सम्मेलनमा पनि जलवायु परिवर्तन तथा जलवायु न्यायको विषय उठाएको स्मरण गरे।

ADVERTISEMENT

उनले बढी कार्बन उत्सर्जन गर्ने विकसित मुलुकहरूले नेपालजस्ता कम कार्बन उत्सर्जन गर्ने तर जलवायु परिवर्तनको बढी असर भोगिरहेका देशलाई जलवायु न्यायका आधारमा सहयोग गर्नुपर्ने बताए।