काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशन उद्घाटन गर्दै विश्वले सामना गरिरहेका युद्ध, असमानता, जलवायु परिवर्तन र कृत्रिम बुद्धिमत्तालाई शक्तिको बदलिँदो स्वरूपसँग जोडेर व्याख्या गरेका छन्।
आफ्नो कार्यकाल सकिन करिब १०० दिन बाँकी रहँदा गुटेरेसले महासभामा अन्तिमपटक सम्बोधन गरेका हुन्। उनले पछिल्लो दशकमा अन्तर्राष्ट्रिय नियम र संस्थाप्रतिको विश्वास कमजोर हुँदै गएको तथा विश्व विभाजन गहिरिँदै गएको बताए।
गुटेरेसका अनुसार शक्ति अहिले तीन प्रमुख तरिकाले परिवर्तन भइरहेको छ, नयाँ राष्ट्रहरूको प्रभाव बढ्नु, सरकारबाट निजी कम्पनी तथा व्यक्तितर्फ निर्णय गर्ने शक्ति सर्नु र मानिसले गर्दै आएका महत्वपूर्ण निर्णयमा कृत्रिम बुद्धिमत्ता तथा स्वचालित प्रणालीको भूमिका बढ्नु।
उनले विश्वमा बढ्दो द्वन्द्वतर्फ संकेत गर्दै मध्यपूर्व, युक्रेन, सुडान र म्यानमारको अवस्था उल्लेख गरे। युद्धविराम भए पनि सर्वसाधारणले हिंसा र मानवीय संकटको मूल्य चुकाइरहेको उनको भनाइ थियो।
नेपालका हिमालहरूबाट मैले ,विश्वको छानो खसिरहेको चेतावनी दिएको थिएँ
जलवायु परिवर्तनको प्रसंगमा गुटेरेसले नेपाललाई विशेष रूपमा स्मरण गरे। उनले तीन वर्षअघि नेपालको हिमाली क्षेत्रबाटै विश्वको छानो तीव्र गतिमा पग्लिरहेको भन्दै चेतावनी दिएको बताए।
‘तीन वर्षअघि मैले, नेपालका हिमालहरूबाट विश्वको छानो खसिरहेको चेतावनी दिएको थिएँ । अत्यन्तै तीव्र गतिमा हिउँ पग्लिरहेको विषयमा खतराको घण्टी बजाएको थिएँ,’ उनले भने।
त्यतिबेला कतिपयले आफ्नो चेतावनीलाई खतराबारे गरिएको अतिरञ्जनाका रूपमा लिएको उल्लेख गर्दै गुटेरेसले नेपालमा पछिल्ला दुःखद घटनाले जलवायु संकटका प्रभाव अपेक्षा गरिएभन्दा छिटो र व्यापक रूपमा देखिन थालेको पुष्टि गरेको बताए।
‘कतिपयले यसलाई खतराहरूबारे बढाइचढाइ गरिएको भनेर खारेज गरे । तर अहिलेका दुःखद घटनाहरूले के देखाएको छ भने धेरैले सोचेभन्दा चाँडै यसका कडा प्रहारहरू देखिइरहेका छन् । ती अझ व्यापक रूपमा फैलिरहेका छन्,’ उनले भने।
गुटेरेसले जलवायु परिवर्तनको जोखिम अब भविष्यको सम्भावित खतरा नभई वास्तविकताका रूपमा विश्वसामु आएको बताए। यसको मूल्य भने जलवायु परिवर्तनमा तुलनात्मक रूपमा कम योगदान गरेका कमजोर तथा विकासशील देशहरूले बढी चुकाइरहेको उनको भनाइ थियो।
तर जलवायु संकटको सबैभन्दा ठूलो असर भोगिरहेका यस्ता देशहरूले आवश्यक न्याय र सहयोग अझै नपाएको गुटेरेसले बताए।
उनले धनी राष्ट्रहरूलाई जलवायु अनुकूलनका लागि उपलब्ध वित्तीय सहयोग तीन गुणासम्म बढाउन तथा प्रमुख प्रदूषकहरूले जलवायुजन्य क्षतिको लागतमा योगदान गर्न आग्रह गरे।
एआईमा पनि बढ्दो शक्तिको चिन्ता
महासचिव गुटेरेसले कृत्रिम बुद्धिमत्ताको विकाससँगै डेटा, कम्प्युटिङ क्षमता र एल्गोरिदममाथिको शक्ति सीमित समूहमा केन्द्रित हुँदै गएको बताए।
उनले एआई आफैं समस्या नभएको, तर पर्याप्त जवाफदेहिता र नियमनबिना यसको प्रयोग जोखिमपूर्ण हुन सक्ने बताए। एआईको जोखिम व्यवस्थापनका लागि बहुपक्षीय संरचना र स्वतन्त्र निगरानी आवश्यक रहेको उनको भनाइ थियो।
जीवन–मरणसँग जोडिएका निर्णयबाट मानिसलाई पूर्ण रूपमा हटाउन नहुनेमा जोड दिँदै उनले स्वायत्त हतियार प्रणालीको प्रयोगप्रति पनि चेतावनी दिए।
सम्बोधनको अन्त्यमा गुटेरेसले दोस्रो विश्वयुद्धपछि स्थापना भएको संयुक्त राष्ट्रसंघको मूल उद्देश्य साझा नियम र सहकार्यमा आधारित विश्व निर्माण गर्नु रहेको स्मरण गराए। वर्तमान संकटको समाधानका लागि विश्वलाई कमजोर होइन, अझ बलियो संयुक्त राष्ट्रसंघ आवश्यक रहेको उनको भनाइ थियो।






