काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकको साझा आवाज सशक्त बनाउन हिमाली राष्ट्र र साना टापु विकासशील राष्ट्रबीच सुदृढ सहकार्य आवश्यक रहेको बताएका छन्।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहेका मन्त्री खनालले बुधबार जलवायु जोखिममा रहेका राष्ट्रहरूको मञ्च (सिभीएफ)को नेताहरूको बैठकलाई सम्बोधन गर्दै जलवायु न्याय सुनिश्चित गर्न सामूहिक प्रयास आवश्यक रहेको बताएका हुन्।

ADVERTISEMENT

उनले हिमाली क्षेत्रमा हिमनदी पग्लने तथा हिमताल विस्फोटजन्य बाढीजस्ता विपद् र साना टापु राष्ट्रमा आउने आँधीको प्रभाव समान रूपमा विनाशकारी हुने उल्लेख गरे।

ADVERTISEMENT

नेपालमा भोटेकोशी नदीमा आएको बाढीले सडक, जलविद्युत् आयोजना, विद्यालय, अस्पताल तथा स्थानीय समुदायको जीविकोपार्जनमा पुर्‍याएको क्षतिको उदाहरण दिँदै मन्त्री खनालले जलवायु परिवर्तनले दिगो विकासमा थप चुनौती सिर्जना गरेको बताए।

खनालले जलवायु उत्थानशील पूर्वाधार, विकास वित्त प्रणालीमा सुधार र पूर्वसूचना प्रणालीमा लगानी बढाउनुपर्नेमा जोड दिए। साथै हरित तथा डिजिटल रूपान्तरण र हानि तथा क्षतिसम्बन्धी वित्तीय सहायता प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो।

ADVERTISEMENT

जलवायु जोखिममा रहेका राष्ट्रबीच सहकार्य गर्दै सुरक्षित भविष्य सुनिश्चित गर्न नेपाल प्रतिबद्ध रहेको पनि उनले बताए।