काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङबीच भेटवार्ता भएको छ ।बिहीबार बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उनीहरूबीच भेटवार्ता भइरहेको हो । भेटमा गत साता रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको क्षति, जलविद्युत् आयोजनामा परेको असर तथा उद्धार कार्यका विषयमा छलफल भइरहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

घिसिङ केही दिनअघि बाढीग्रस्त क्षेत्रको स्थलगत निरीक्षणमा पुगेर जलविद्युत् आयोजनामा फसेका मानिसहरूको उद्धार अवस्थाबारे जानकारी लिएका थिए । निर्माण सम्पन्न भएका तथा निर्माणाधीन करिब एक दर्जन विद्युत् आयोजनामा ठूलो क्षति पुगेको र त्यहाँ कार्यरत केही मानिस फसेकाले प्रधानमन्त्री शाहले घिसिङसँग यस विषयमा छलफल गरेका हुन् ।

ADVERTISEMENT

भोटेकोसी बाढीका कारण आयोजनाका संरचना, पहुँचमार्ग तथा विद्युत् पूर्वाधारमा समेत क्षति पुगेको छ । बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य चुनौतीपूर्ण बनेको छ ।

ADVERTISEMENT

बाढी आएको नौ दिन बितिसक्दासमेत सुरुङभित्र फसेका मानिसहरूको उद्धारमा अपेक्षित प्रगति हुन सकेको छैन । उनीहरूको उद्धारका लागि भइरहेका प्रयास, थप स्रोत–साधनको आवश्यकता तथा प्रभावित जलविद्युत् आयोजनाको अवस्थाबारे भेटवार्तामा छलफल भइरहेको जनाइएको छ ।

प्रधानमन्त्री शाह र घिसिङबीचको भेटलाई भोटेकोसी बाढीपछि जलविद्युत् आयोजना तथा प्रभावित क्षेत्रमा उद्धार कार्यलाई प्रभावकारी बनाउने प्रयासका रूपमा हेरिएको छ ।

ADVERTISEMENT