काठमाडौं । सरकारले लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने बाटो पर्ने भूमि नेपालकै हो भन्ने कुरामा प्रतिबद्ध रहेको दोहोर्‍याएको छ ।

सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै लिपुलेक नेपालकै रहेको बताएका हुन् ।

ADVERTISEMENT

भारतले केही दिनअघि लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रा खुल्ला गरेको थियो । भारत सरकारले आयोजना गर्ने कैलाश मानसरोवर यात्रा २०२६ जुनदेखि अगस्टसम्म सञ्चालन हुने छ ।

भारत र चीनले नेपालसँग संवाद नै नगरी लिपुलेकबारे सहमति गरेका थिए । आइतबार परराष्ट्र मन्त्रालयले भारत र चीनलाई यो विषयमा कूटनीतिक नोट पठाएर आफ्नो स्ट्यान्ड राखेको थियो । लगत्तै भारतले नेपालको दाबी सत्य नरहेको भनी खण्डन गरेपछि यो विषय फेरि सतहमा आएको छ ।

मन्त्री पोखरेलले यो विषय अब दुई सरकारबीचको सहकार्य र कूटनीतिक संवादमार्फत निकास निकाल्ने विषय भएकोसमेत प्रष्ट पारे। परराष्ट्र मन्त्रालयले जारी गरेको नोट सार्वजनिक जानकारीका लागि मात्र नभई औपचारिक रूपमा पठाइएको पत्र भएको समेत उनले बताए।

भारत सरकारले हालै जारी गरेको भनिएको वक्तव्य र त्यसमा नेपालले सीमा विस्तार गर्न खोजेको भन्ने आशयको बुँदाप्रति सङ्केत गर्दै प्रवक्ता पोखरेलले भने, ‘त्यो सीमा विस्तार गरिएको विषय नै होइन, ती क्षेत्रहरू नेपालकै भूमि हुन्। यसमा सरकार स्पष्ट छ र आफ्नो अडानमा प्रतिबद्ध छ।’

मन्त्री पोखरेलले आजको बैठकमा मन्त्रालय गाभ्ने र नाम परिवर्तनबारे कुनै ठोस छलफल नभए पनि यसका प्राविधिक र कानूनी पक्षहरूका बारेमा अध्ययन भइरहेको बताए।