काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन्द्र साह बालेनको एउटा पुरानो फेसबुक स्टाटस उनकै लागि भारी पर्ने देखिएको छ । आठ महिनाअघि तत्कालीन प्रधानमन्त्री केपी ओली चीन भ्रमण जाने बेला उनले कडा स्टाटस लेखेका थिए ।
भारत र चीनका विदेशमन्त्रीबीच नयाँ दिल्लीमा नेपाली भूमि लिपुलेक भएर द्विपक्षीय व्यापार गर्ने सहमति भएको थियो । सो सहमति हुँदै गर्दा ओली बेइजिङ जाने तयारीमा थिए ।
बालेनले लेखेका थिए– ‘चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यू । नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला । हामीलाई तपाईंमाथि पूर्ण विश्वास छ ।’
बालेन त्यसबेला काठमाडौंका मेयर थिए । बेइजिङ भ्रमण सकेर फर्किएलगत्तै ओली एमालेको विधान महाधिवेशनमा लागे । एमालेको विधान महाधिवेशन सकिएको दोस्रो दिन नै जेनजी आन्दोलनले ओलीलाई नै सत्ताच्यूत गरेको थियो । जेनजी आन्दोलनपछि बालेन काठमाडौंको मेयरबाट राजीनामा दिएर पूर्णकालीन राजनीतिमा लागेका छन् । बालेनले हालै सम्पन्न निर्वाचनमा झापा ५ बाट ओलीलाई नै पराजित गरेका छन् । अहिले उनी प्रधानमन्त्रीको शपथ लिने तयारीमा छन् ।
रामनवमीको अवसर पारेर बालेनले प्रधानमन्त्रीको शपथ लिँदैछन् । यहीबेला भारत र चीनबीच आगामी जुन १ देखि लिपुलेक भएर व्यापार सुरु गर्ने सहमति भएको समाचार आएका छन् । यो समाचार आउनेवित्तिकै अब बालेनले के गर्लान् भन्ने चासो र जिज्ञासा उत्पन्न भएको छ ।
अहिले सामाजिक सञ्जालमा बालेनलाई चीन र भारतबीच लिपुलेक नाका भएर भारत र चीनलाई व्यापार गर्न रोक लगाउन सल्लाह दिनेक्रम बढेको छ ।
ओली प्रधानमन्त्री हुँदा लिपुलेकसम्बन्धी भारत–चीन सहमतिले नेपालको सार्वभौमिकतामाथि असर परेको बताउने बालेनले अब त्यही विषयलाई कसरी लिन्छन् भन्ने चासो देखिएको हो । उनको पुरानो अडान र वर्तमान भूमिकाबीच तुलना गर्दै विभिन्न प्रश्न उठ्न थालेका छन्।
नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र आफ्नो अभिन्न भूभाग भएको अडान राख्दै आएको छ भने भारत–चीनबीच उक्त क्षेत्रमा हुने सहमति र गतिविधिप्रति आपत्ति जनाउँदै आएको छ।








