काठमाडौं । नेपाल राष्ट्र बैंकले टेन्डर सूचना निकाल्दा गम्भीर लापरवाही गरेको भेटिएको छ । राष्ट्र बैंकले ६० थान लेयर २ म्यानेजेवल स्विच विद्युतीय बोलपत्रको बोलपत्रको प्रक्रियाबाट खरिद गर्ने प्रयोजनार्थ गोरखापत्रमा निकालेको सूचनामा गम्भीर त्रुटि भेटिएको हो ।
राष्ट्र बैंकले माघ ७ गते गोरखापत्रमा प्रकाशित टेन्डरको सूचनाअनुसार भन्दै बोलपत्र आह्वानकर्तालाई टेन्डर उपलब्ध गराएको छ । जबकि माघ ७ गते प्रकाशित सूचनामा दुईथरी विषय उल्लेख छ ।
गोरखापत्रमा सुरुमा ‘लेयर २ म्यानेजेवल स्विच’ भन्ने उल्लेख छ । तर अलि पछि गएर ‘द सप्लाइ डेलिभरी एन्ड इन्स्टलेसन अफ लेयर ३ म्याजेवल स्विच’ उल्लेख छ । सूचनाकै विवरणमा फेरि ‘लेयर २ म्यानेजेवल स्विच’ उल्लेख गरिएको छ । माघ ७ गतेको गोरखापत्रमा छापिएको सूचनाअनुसार राष्ट्र बैंकले निकालेको बोलपत्रमा पाँच कम्पनीले प्रतिस्पर्धामा भाग लिएका थिए । जबकि त्यस दिन राष्ट्र बैंकले १३२ थान कुर्सी खरिदका लागि निकालेको सूचना मात्र छ ।
राष्ट्र बैंकले निकालेको बोलपत्रमा सस्त्र नेटवर्क सोलुसन, क्लाउड टेक, एआई सोलुसन, नेटफिनिटी प्रा.लि. र एस्ट्रल कम्प्युटर नेपालले प्रतिस्पर्धामा भाग लिएका थिए । राष्ट्र बैंकले न्यूनतम मूल्यांकित सारभूत रूपमा प्रभावग्राहीका आधारमा एस्ट्रल कम्प्युटर नेपाललाई ६० लाख बराबरको टेन्डर दिएको पाइएको छ । र, अप्रिल २४ अर्थात् वैशाख ११ गते शुक्रबार अन्तिम बोलपत्र निकाल्दैछ ।
बोलपत्र प्रकाशित नभएको दिनकै मिति राखेर किन कम्प्युटर खरिद गर्न टेन्डर दिइयो भन्ने वृत्तान्तन्युजको प्रश्नमा राष्ट्र बैंकका सहायक सूचना अधिकारी सुमन न्यौपानेले जवाफ दिन सकेनन् । उनले यसबारेमा आफूले कुनै जानकारी दिन नसक्ने भन्दै प्रकाशन खरिद शाखालाई थाहा हुने बताए । सो शाखाका कर्मचारीले बोलपत्र सूचनामा त्रुटि उल्लेख भएको स्वीकारे । र, प्रकाशित नै नभएको सूचनाका आधारमा टेन्डर दिन मिल्छ त भन्दा उनले सच्याएर दिइएको बताए ।







