काठमाडौं। नेपालमा उपभोक्ता महँगीको दर पाँच प्रतिशत नाघेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको वैशाख महिनामा वार्षिक विन्दुगत मुद्रास्फीति ५.०४ प्रतिशत पुगेको छ। गत वर्षको सोही अवधिमा मुद्रास्फीति दर २.७७ प्रतिशत रहेको थियो।
राष्ट्र बैंकले फलफूल, घ्यू तथा तेल, तरकारी र मासुजन्य वस्तुको मूल्य वृद्धि भएपछि खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.६३ प्रतिशत पुगेको जनाएको छ। यस्तै, गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ।
प्रदेशगत रूपमा कोसी प्रदेशमा सबैभन्दा बढी ५.६४ प्रतिशत मुद्रास्फीति रहेको छ। अन्य प्रदेशको तुलनामा हिमाली क्षेत्रमा भने मुद्रास्फीति दर कम रहेको राष्ट्र बैंकले जनाएको छ।
वस्तु तथा सेवाको मूल्यवृद्धिसँगै उपभोक्ताको दैनिक जीवनयापन खर्च बढ्दै गएको छ। विशेषगरी खाद्यान्न, तरकारी तथा अत्यावश्यक उपभोग्य वस्तुको मूल्य वृद्धि हुँदा सर्वसाधारण प्रत्यक्ष प्रभावित भएका छन्।








