काठमाडौँ । सीएनएनका अनुसार चीनको एक सरकारी सुपरकम्प्युटर केन्द्रबाट अत्यन्त संवेदनशील तथा गोप्य जानकारी चोरी भएको दाबी गरिएको छ, जसलाई चीनबाट हालसम्मकै सबैभन्दा ठूलो डाटा चोरी घटना मानिएको छ।

रिपोर्ट अनुसार करिब १० पेटाबाइटभन्दा बढी डाटा चोरी भएको भनिएको छ, जसमा रक्षा सम्बन्धी कागजात, क्षेप्यास्त्रको संरचना, एयरोस्पेस अनुसन्धान, जैविक सूचना र अन्य प्राविधिक सामग्री समावेश छन्। यो डाटा नेसनल सुपर कम्प्युटिंग सेन्टरबाट लिइएको हुन सक्ने विज्ञहरूले अनुमान गरेका छन्।

ADVERTISEMENT

उक्त केन्द्र चीनभरका ६ हजारभन्दा बढी संस्थालाई सेवा दिने प्रमुख प्रविधि पूर्वाधार हो, जसमा वैज्ञानिक अनुसन्धानदेखि सैन्य निकायसम्म संलग्न छन्। साइबर सुरक्षाविज्ञहरूका अनुसार ह्याकरले प्रणालीमा प्रवेश गर्न सहज तरिकाले पहुँच पाएको र महिनौँसम्म ठूलो मात्रामा डाटा चोरी गर्दा पनि पत्ता नलागेको देखिन्छ।

‘फ्लेमिङचाइना’ नाम प्रयोग गर्ने समूहले टेलिग्राममार्फत डाटाको नमुना सार्वजनिक गर्दै यो सामग्री विभिन्न शीर्ष संस्थासँग सम्बन्धित भएको दाबी गरेको छ। तीमध्ये चीनको विमान उद्योग निगम, वाणिज्यिक विमान निगम र रक्षा प्रविधि विश्वविद्यालय जस्ता संस्थाहरूको नाम उल्लेख गरिएको छ।

ADVERTISEMENT

विज्ञहरूका अनुसार केही नमुना कागजातहरूमा ‘गोप्य’ चिन्ह लगाइएका फाइल, बम तथा क्षेप्यास्त्रसम्बन्धी प्राविधिक विवरण र सिमुलेसन सामग्री समेत भेटिएको छ। चोरी गरिएको सम्पूर्ण डाटा बिक्रीका लागि क्रिप्टोमुद्रामा मूल्य निर्धारण गरिएको समेत बताइएको छ।

यो घटनाले चीनको प्रविधि सुरक्षामा गम्भीर कमजोरी रहेको संकेत गर्ने विश्लेषण गरिएको छ। यसअघि पनि ठूलो मात्रामा नागरिकको व्यक्तिगत डाटा असुरक्षित रूपमा सार्वजनिक भएको घटना बाहिर आएको थियो।

यदि यो दाबी सत्य सावित भयो भने, विश्वव्यापी सुरक्षामा यसको प्रभाव पर्ने र विभिन्न देशका गुप्तचर निकायहरूले यस्तो डाटामा चासो देखाउने सम्भावना रहेको विज्ञहरूले बताएका छन्।