काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालतमा तारिख बुझेका छन् ।
सानो पाइला सहकारी ठगी प्रकरणमा उनले बुधबार वीरगन्जस्थित जिल्ला अदालतमा तारिख बुझेका हुन् । उनी तारिख बुझ्न बुधबार बिहान काठमाडौंबाट सिमरा हुँदै पर्सा जिल्ला अदालत पुगेका हुन् ।
बुधबार बिहान अदालतमा उपस्थित भई निर्धारित म्याद बुझ्ने कार्यक्रमअनुसार रवि काठमाडौंबाट सिमरा पुगेका थिए । सिमरा विमानस्थलमा अवतरणपछि लामिछानेलाई सुरक्षाकर्मीको निगरानी तथा व्यवस्थापनमा स्वागत गरिएको थियो।
पर्सा जिल्ला अदालतमा उनको उपस्थितिलाई ध्यानमा राख्दै अदालत परिसर तथा वरपरका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको थियो ।
लामिछानेका समर्थकहरू पनि अदालत परिसर आसपास भेला हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले निगरानी बढाएको हो । कुनै अप्रिय घटना हुन नदिन आवश्यक सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।








