काठमाडौं । रास्वपा सभापति रवि लामिछाने सांसद अभिमुखीकरण कार्यक्रममा उपस्थित भएका छन् । अस्वस्थ रहँदारहँदै पनि उनी बुधबार दिउँसो ग्वार्कोस्थित होटेल रोयल टुलिपमा पुगेर उनले सांसदहरूलाई सम्बोधन गर्दै विभिन्न निर्देशन दिए । उनले नागरिकसँग सधैं नजिक रहेर बस्न भन्दै नागरिकसँग गरिएका करार अक्षर अक्षर पढ्न भने ।

लामिछानेले अहिलेसम्म मन्त्रीका विषयमा कुनै छलफल नभएको पनि बताए । म यो मन्त्री बन्दैछु भनेर चर्चा नगर्न निर्देशन दिए । मन्त्रीको चर्चामा आएका र नआएका सबै नेताहरुलाई पार्टीले हेरिरहेको उनले बताए ।

चुनावका बेला गरेको खटाइका लागि सांसदहरूलाई धन्यवाद दिँदै उनले देश बनाउन त्यो भन्दा पनि बढी खट्नुपर्ने बताए । चुनावका बेला आफ्नो इतिहास आफैंले लेख्ने भनेर भोट मागेको र जनताले ल इतिहास लेख भनेर जनमत दिएकाले त्यसको महसुस गर्न उनले सांसदहरूलाई आग्रह गरे ।

तर रास्वपा वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीमा प्रस्तावित बालेन्द्र साह बालेन भने कार्यक्रममा अनुपस्थित छन् । एमाले अध्यक्ष केपी ओलीलाई झण्डै ५० हजार मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका बालेनसाहको नेतृत्वमा नयाँ सरकार गठनको तयारी हुँदैछ । चुनावअघि नै प्रधानमन्त्रीका रूपमा अघि सारिएका उनी आफ्नो कार्यशैलीसँग मेल खाने सांसदहरूलाई क्याविनेटमा समेट्नेगरी आन्तरिक संवादमा रहेको बताइएको छ ।

हिजोदेखि सुरु भएको कार्यक्रम आज सकिँदैछ । उदघाटन सत्रमा उपसभापति डिपी अर्यालले सभापति रवि लामिछानेसँगै बालेनलाई पनि समापनमा उपस्थित गराइने जानकारी गराएका थिए । तर, रवि कार्यक्रममा पुगेर सम्बोधन गरे पनि बालेन भने सहभागी नहुने बुझिएको छ ।

काठमाडौँ महानगरको मेयर भएर जनप्रतिनिधिको अनुभव बटुलेका बालेन संसदमा भने पहिलोपल्ट छिर्न लागेको हुन् । यसर्थ उनी पार्टीको अभिमुखीकरणमा सहभागी हुने अपेक्षा पार्टीपंतिले गरेको थियो । संसदीय अभ्यास, नीति निर्माणका प्रक्रिया, सरकार(संसद सम्बन्धबारे अनुभाव साटासाट गर्न पनि बालेन त्यहाँ जान्छन् भन्ने ठानिएको थियो । तर, तालिममा सामेल नभएकोमा उनका समर्थकहरूले असन्तुष्टि जनाएका छन् ।