काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारको नियतमाथि शङ्का नगर्न आग्रह गर्दै निर्णयमा समस्या देखिए सच्याउन सरकार तयार रहेको बताएका छन्।

रौतहटका पार्टीका नवप्रवेशीहरूलाई स्वागत गर्दै उनले असल उद्देश्यका साथ गरिएका निर्णयहरू कार्यान्वयनका क्रममा कहिलेकाहीँ विवादित बन्न सक्ने भए पनि त्यसलाई आवश्यक परे परिमार्जन गरिने बताए।

ADVERTISEMENT

लामिछानेले किसानको हितका लागि गरिएको निर्णयसमेत व्यवहारमा जाँदा उल्टो असर पर्न सक्ने स्वीकार गर्दै जसको हितका लागि निर्णय गरिएको हो, उनीहरूलाई नै नोक्सानी पुगेमा सरकारले त्यसलाई परिवर्तन गर्ने स्पष्ट पारे।

ADVERTISEMENT

उनका अनुसार कुनै निर्णयले ठूलो क्षति पुर्‍याउने अवस्था आए तत्काल सुधार गरिने भएकाले सरकारलाई केही समय दिन आवश्यक छ। नेतृत्वले स्पष्ट उद्देश्य र दीर्घकालीन दृष्टिकोणका साथ योजना ल्याउने भएकाले कार्यान्वयनका चुनौतीका आधारमा मात्रै ती योजनालाई असफल ठहर गर्न नहुने उनको भनाइ थियो।

‘तपाईंहरूलाई म के विश्वास दिलाउन चाहन्छु भने सरकारको नियतमाथि कुनै शङ्का छैन। निर्णयहरूमा कहिलेकाहीँ समस्या आउन सक्छ, त्यसलाई करेक्सन गर्नुपर्छ,’ उनले भने।