हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिका–३ चाखुरेमा रहेको गाउँपालिकाको कार्यालयमा भएको आगलागी घटनाको अनुसन्धानका क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी युवराज ढकालका अनुसार भदौ ७ गते राति करिब १ बजे भएको आगलागीमा संलग्न रहेको आरोपमा ताँजाकोट गाउँपालिका–४ गल्लाबाडाका करिब ४७ वर्षीय कृष्णचन्द्र जैसी र गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत पूर्वकर्मचारी करिब ४५ वर्षीय धनराज ढकाल पक्राउ परेका हुन्।

ADVERTISEMENT

घटनापछि जिल्ला प्रहरी कार्यालय हुम्लाबाट अनुसन्धान टोली घटनास्थलमा खटिएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा दुवै जनाको घटनामा संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

पक्राउ परेका दुवै जनालाई कानुनबमोजिम हुम्ला जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतले उनीहरूमाथि थप अनुसन्धानका लागि ७ दिनको म्याद दिएको छ।

प्रहरीका अनुसार उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ। आगलागीको वास्तविक कारण तथा घटनामा पक्राउ परेकाहरूको संलग्नताबारे अनुसन्धान पूरा भएपछि थप तथ्य खुल्नेछ।

ADVERTISEMENT

आगलागीबाट गाउँपालिकाको जिन्सी शाखामा राखिएका चारवटा काठका र्‍याग, एउटा खाट, एउटा टेबल र एउटा सोलार ब्याट्री जलेका छन्। साथै आर्थिक वर्ष २०७३/०७४ देखि हालसम्मका विभिन्न महत्वपूर्ण कागजातसमेत आगलागीमा नष्ट भएको प्रहरीले जनाएको छ।