काठमाडौं। नेपालको अग्रणी निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले पोखरास्थित आफ्नो एनसेल सेन्टर पुनःसञ्चालनमा ल्याएको छ। पोखराको सिर्जना चोकमा अवस्थित उक्त सेन्टर जेनजी आन्दोलनका क्रममा तोडफोड भई क्षति पुगेपछि केही समयका लागि बन्द रहेको थियो। मर्मत तथा पुनःसंरचना कार्य सम्पन्न भएपछि बिहीबार एक औपचारिक कार्यक्रमका बीच सेन्टरको पुनःउद्घाटन गरिएको हो।

पुनःसञ्चालन कार्यक्रममा एनसेलकी ग्राहक सेवा प्रबन्धक ज्योति दाहाल र पोखरा चाउचाउका एचआर अफिसर यम प्रसाद गौतमले संयुक्त रूपमा सेन्टरको उद्घाटन गरेका थिए । सेन्टर बन्द अवधिभर कम्पनीले अस्थायी रूपमा सोही भवनको एक तल्लामाथि रहेको कार्यालयबाट ग्राहक सेवा प्रदान गर्दै आएको थियो, जसले गर्दा सेवा निरन्तरता कायम राख्न सहयोग पुगेको थियो।
उद्घाटन कार्यक्रममा बोल्दै ग्राहक सेवा प्रबन्धक दाहालले भनिन्, “पोखरा सेन्टर बन्द हुँदा हाम्रा ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं। ग्राहकहरूलाई उच्चस्तरीय सेवा अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धता अनुरूप पोखरामा पुनः सेन्टर सञ्चालनमा ल्याउन पाएकोमा हामी अत्यन्त खुसी छौं।” उनले ग्राहकको विश्वास नै कम्पनीको मुख्य पूँजी भएकाले सेवा गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरिन्।
पुनःसञ्चालनमा आएको सेन्टरबाट ग्राहकहरूले एकै स्थानबाट सम्पूर्ण ग्राहक सेवा प्राप्त गर्न सक्नेछन्। यहाँबाट नयाँ सिम खरिद, सेवा तथा सुविधासम्बन्धी परामर्श, इन्टरनेट सेटिङसम्बन्धी जानकारी, फोरजीमा सिम अपग्रेड, ई–सिममा रूपान्तरण, मोबाइल नम्बर परिवर्तन, सीयूजी नम्बर व्यवस्थापन, अन्तर्राष्ट्रिय रोमिङ सुचारु, बिल भुक्तानी, ब्यालेन्स रिचार्ज तथा ट्रान्सफर लगायतका सेवा उपलब्ध छन्। साथै, कर्पोरेट ग्राहकहरूका लागि आवश्यक विभिन्न व्यवसायिक सेवाहरू पनि यहीँबाट प्रदान गरिने कम्पनीले जनाएको छ।
पोखरा एनसेल सेन्टरको पुनःसञ्चालनसँगै स्थानीय ग्राहकहरूलाई सहज, छिटो र विश्वस्तरीय सेवा उपलब्ध हुने विश्वास कम्पनीले लिएको छ। डिजिटल सेवाको बढ्दो प्रयोगसँगै प्रत्यक्ष ग्राहक सेवा केन्द्रहरूको भूमिका अझ महत्वपूर्ण बन्दै गएको सन्दर्भमा एनसेलले सेवा विस्तार र सुदृढीकरणलाई प्राथमिकतामा राखेको जनाएको छ।
हाल एनसेलले देशका विभिन्न भागमा ३१ वटा एनसेल सेन्टर सञ्चालन गर्दै आएको छ। ग्राहक सेवा अझ प्रभावकारी, पहुँचयोग्य र गुणस्तरीय बनाउने लक्ष्यका साथ कम्पनीले आगामी दिनमा समेत पूर्वाधार सुदृढीकरण र सेवा विस्तारलाई निरन्तरता दिने जनाएको छ।








