काठमाडौं । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल प्याट्रिक फोलीले आफ्नो पदबाट राजीनामा दिएका छन्। एनसेल सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गर्दै नयाँ सीईओ नियुक्त नभएसम्मका लागि प्रमुख कर्पोरेट तथा नियामक मामिला अधिकृत दिल्ली राम श्रेष्ठलाई जिम्मेवारी दिएको छ।

एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणलाई पठाएको पत्रअनुसार फोलीको राजीनामा भदौ ९ अर्थात् अगस्ट २५ देखि लागू भएको हो। नयाँ सीईओ नियुक्त नभएसम्म श्रेष्ठलाई कम्पनीको ‘लिमिट्स अफ अथोरिटी’ अन्तर्गत यसअघि सीईओले प्रयोग गर्दै आएका सबै अधिकार प्रयोग गर्ने जिम्मेवारी दिइएको छ।

ADVERTISEMENT

फोलीले नेपालमा रहेर कामलाई निरन्तरता दिन कठिन भएको भन्दै राजीनामा दिएको स्रोतको दाबी छ। एनसेलले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट तत्कालीन स्मार्ट टेलिकमको सरकारी स्वामित्वमा आएको सम्पत्ति खरिद गरेको विषयमा बैंक तथा एनसेलका अधिकारीविरुद्ध मुद्दा परेपछि यस्तो अवस्था सिर्जना भएको बताइएको छ। यद्यपि, फोलीले यसअघि कार्यालय भ्रमणका क्रममा सहकर्मीहरूलाई पारिवारिक जिम्मेवारीका कारण पदबाट अलग हुन लागेको बताएका थिए।

ADVERTISEMENT

यसैबीच एनसेलले वरिष्ठ व्यवस्थापनमा नेपाली सेनाका अवकाशप्राप्त उच्च अधिकारीलाई समेत नियुक्त गरेको छ। स्रोतका अनुसार अवकाशप्राप्त उपरथी सन्तोषकुमार ढकाललाई ‘चिफ अफ स्टाफ’ नियुक्त गरिएको छ। त्यस्तै, कर्पोरेट कम्युनिकेसन तथा सस्टेनेबिलिटी निर्देशक विशाखा लक्ष्मी खड्कालाई एनसेल फाउन्डेसनको निर्देशकको जिम्मेवारी दिइएको छ।

अन्तरिम सीईओ श्रेष्ठ कानुन तथा नियामकीय मामिलाका अनुभवी व्यक्ति हुन्। एनसेलमा आबद्ध हुनुअघि उनी कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपाल लिमिटेडका कन्ट्री लिगल डाइरेक्टर थिए। उनले मेगा बैंक नेपालमा लिगल हेड, सिभिल बैंकमा कम्पनी सचिव तथा प्रमुख कानुनी अधिकृत, सिद्धार्थ बैंकमा लिगल हेड र राष्ट्रिय वाणिज्य बैंकमा कानुनी अधिकृतका रूपमा काम गरिसकेका छन्।

ADVERTISEMENT

कानुनी तथा नियामकीय अनुपालन र कर्पोरेट सुशासनमा कडाइका साथ काम गर्ने अधिकारीका रूपमा परिचित श्रेष्ठले नेपाल ल क्याम्पसबाट एलएलएम गरेका छन्। उनलाई २०६६ सालमा लयर्स क्लब काठमाडौंले ‘बेस्ट लिगल राइटिङ अवार्ड’ समेत प्रदान गरेको थियो।