काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट शुक्रबार करिब ११ किलोग्राम २७० ग्राम अवैध लागूऔषध गाँजासहित तीनजना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा ४३ वर्षीया समीना अख्तर बैग मिर्जा, २४ वर्षीय मोहम्मद जुनैद तथा ४४ वर्षीय अफसाना अमीर हुसेन शेख रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले मोहम्मद जुनैद र समीना अख्तर बेग मिर्जालाई करिब तीन किलो ८७० ग्राम र अफसानालाई करिब सात किलो ४०० ग्राम उक्त लागूऔषधसहित आज पक्राउ गरेको उनले बताए ।
पक्राउ परेका तीनैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आजै लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रवक्ता काफ्लेले बताए ।
यस्तै, प्रहरीले चोरीको मोटरसाइकलको पार्टपुर्जा निकाली बिक्री तथा अन्य मोटरसाइकलमा जडान गर्ने तीनजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा मोरङ कानेपोखरी गाउँपालिका–६ घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–७ हात्तीगौडा बस्ने ३१ वर्षीय लक्ष्मण विश्वकर्मा, अर्घाखाँची, शीतगङ्गा गाउँपालिका–२ घर भई बूढानीलकण्ठ नगरपालिका–६ हात्तीगौडा बस्ने २८ वर्षीय नरबहादुर चित्रे तथा बूढानीलकण्ठ नगरपालिका–७ हात्तीगौडा बस्ने ३८ वर्षीय करण खड्गी रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
बूढानीलकण्ठ नगरपालिका–७ हात्तीगौडास्थित तथा काठमाडौँ महानगरपालिका–२२ सङ्कटा मन्दिरस्थित पार्किङ गरी राखेको बा प्र ०२–०१६ प ६१४३ नम्बरको मोटरसाइकल चोरी गरी पाटपुर्जासमेत निकाली बिक्री वितरण तथा अन्य मोटरसाइकलहरूमा जडान गरिएको भन्ने सूचनाका आधारमा प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरु माथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






