काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।
राप्रपा तथा राजावादी समूहले फागुन १ गते विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भव्य स्वागत गर्न भन्दै आह्वान गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले बिहीबारदेखि लागू हुने गरी एक महिनासम्मका लागि विमानस्थल क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।
प्रशासनले एक विज्ञप्ति जारी गर्दै सो क्षेत्र आसपास जुलुस, प्रदर्शन, हड्ताल, र्याली, भेलाजस्ता कार्यहरु नगर्न-नगराउन निर्देशन दिएको छ । ‘अन्तर्राष्ट्रिय विमानस्थलजस्तो अत्यन्त संवेदनशील स्थान र आसपासका क्षेत्र एवं सार्वजनिक सडक मार्गमा यातायात सञ्चालन तथा आम सर्वसाधारणको निर्वाध आवतजावत गर्न पाउने हक संकुचन हुनेगरी कुनै प्रकारको जुलुस, प्रदर्शन, हड्ताल, र्याली, भेला, जम्मा हुनेजस्ता कार्य नगर्न, नगराउन,’ विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी, सामाजिक सञ्जालमार्फत त्यस्ता कार्य गर्न नउक्साउन पनि प्रशासनले भनेको छ । कसैले अटेर गरेर निषेधित क्षेत्रमा कानुनविपरीतको कार्य गरेमा कारबाही गरिने चेतावनी दिइएको छ ।
फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू भइसकेको अवस्थामा कसैले पनि आन्दोलनलगायतका क्रियाकलाप गर्न पाउँदैनन् । त्यसका बाबजूद केही समूहले सामाजिक सञ्जालबाट आन्दोलनको आह्वान गरिरहेको छ । राजावादी दुर्गा प्रसाईले फागुन १ गते जे पनि हुनसक्ने चेतावनी दिइसकेका छन् ।







