काठमाडौँ। आज विश्वभर महिला यौनाङ्गछेदन (फिमेल जेनेटल म्युटिलेसन) विरुद्ध अन्तरराष्ट्रिय शून्य सहनशीलता दिवस मनाइँदैछ। महिलामाथि गरिने यस हानिकारक अभ्यासको पूर्ण अन्त्यका लागि विश्व समुदायको ध्यानाकर्षण गराउनु नै दिवसको मुख्य उद्देश्य हो।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१२ मा प्रत्येक वर्ष फेब्रुअरी ६ तारिखलाई महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवसका रूपमा मनाउने निर्णय गरेको हो। यस दिवसमार्फत महिला यौनाङ्गछेदन उन्मूलनका प्रयासलाई थप प्रभावकारी बनाउँदै सरकार, नागरिक समाज, समुदाय तथा अन्तरराष्ट्रिय संस्थाहरूको सक्रिय सहभागिता र लगानी आवश्यक रहेको सन्देश प्रवाह गरिँदै आएको छ।
राष्ट्रसङ्घका तथ्याङ्कअनुसार हाल विश्वभर करिब २३ करोडभन्दा बढी महिला तथा किशोरी यस कुप्रथाको सिकार भइसकेका छन्, जसका कारण उनीहरूलाई दीर्घकालीन स्वास्थ्य तथा संरक्षण सेवाको आवश्यकता परेको छ। प्रत्येक वर्ष झन्डै ४० लाख किशोरी महिला यौनाङ्गछेदनको जोखिममा पर्ने गरेका छन् भने तीमध्ये २० लाखभन्दा बढी पाँच वर्षभन्दा कम उमेरमै यो पीडाबाट गुज्रिन बाध्य हुने गरेका छन्।
यस अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले महिला तथा किशोरीको अधिकार संरक्षणप्रति प्रतिबद्धता पुनः पुष्टि गर्न विश्व समुदायलाई आह्वान गरेका छन्। उनले महिला र किशोरीहरू हिंसा, डर र विभेदविना सम्मानपूर्ण जीवन बाँच्न पाउने अधिकार सुनिश्चित गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै सहकार्यका माध्यमबाट यस अन्यायलाई सदाका लागि अन्त्य गर्न सकिने बताएका छन्।
यसैगरी, संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष र बाल कोषले पनि महिला, किशोरी तथा बालिकालाई यौनाङ्गछेदनमुक्त जीवन सुनिश्चित गर्न ठोस कदम चाल्न विश्व समुदायसँग आग्रह गरेका छन्।






